कास्की भड्किलो तीज मुक्त जिल्ला

पोखरा १० भदौ । कास्कीलाई आज भड्किलो तीज मुक्त जिल्ला घोषणा गरिएको छ । मानब बिकास मञ्च, टोल बिकास संस्था नगर समन्वय समिति पोखरा र नागरिक समाजको संयुक्त अभियान अन्तर्गत सोमबार कास्कीलाई भड्किलो तीज मुक्त घोषणा गरिएको हो । तीज संस्कृतिको नाममा बिकृत बढ्दै गएको भन्दै बिगत ३ बर्षदेखि संचालित अभियान अन्तर्गत भड्किलो तीज मुक्त घोषणा गरिएको मानब बिकास मञ्च पोखराकी अध्यक्ष सुस्मा पौडेलले बताईन् । तीजमा दर खाने नाममा तारे होटलमा गई भोज खाने, गरगहना प्रदर्शन गर्ने र महंगा लुगा लगाउने प्रबृतिको बिरुद्ध पोखरामा ३ बर्षदेखि अभियान चलाईएको थियो ।
बिषेश गरी पोखरा उपत्यकामा रहेको नगर क्षेत्रलाई लक्षित गरी चलाईएको अभियानको क्रममा पछिल्ला बर्ष तीजको दर खाने र शुभकामना आदानप्रदानको नाममा ठुला भोजभतेर गर्ने प्रबृतिमा कमि आएको थियो । भड्किलो रुपमा तीज मनाउने प्रबृतिको पूर्ण रुपमा अन्त्य नभएपनि घोषणाले केहि बर्षमा पूर्णता पाउने अभियन्ताहरुले बताएका छन् । कार्यक्रममा उपस्थित आमा समुहका प्रतिनिधि, सरकारी एबं गैरसरकारी संस्थाका प्रमुख एबं प्रतिनिधि र अन्य संघसंस्थाका प्रतिनिधिहरुले सामुहिक रुपमा एक स्वरमा कास्कीलाई भड्किलो तीज मुक्त जिल्ला घोषणा गरेका थिए ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा पौडेलले चाड पर्ब मनाउने नाममा सामाजिक बिकृत, बिसंगती फैलाउने र भ्डकिलो रुपमा प्रस्तुत भए कानुन अनुसार कारबाही गर्ने बताए । चाडपर्बलाई शिष्ट, सभ्य र मर्यादित रुपमा मनाउन उनले आग्रह गरेका छन् । तीजमा भड्किलो रुपमा प्रस्तुत हुने महिलाहरुको लागि घोषणाले सकारात्मक सन्देश दिने उनको बिश्वास छ । पोखरा उपमहानगरपालिकाका निमिक्त प्रमुख ओमराज पौडेलले अघिल्ला बर्षहरुमा महिला शसक्तिकरणको नाममा आउने बार्षिक बजेट तीजको दर खाने र तीज गीत प्रतियोगिता संचालनमा खर्च हुने गरेको भएपनि अहिले रोकिएको बताए । अभियानपछि महिला शसक्तिकरणको नाममा आएको बजेट दरखाने कार्यक्रममा दिनुपर्ने बाध्यता टरेको उनले बताएका छन् ।
राजनितिक दलका महिला नेतृहरुले पनि भड्किलो तीज मुक्त जिल्ला घोषणालाई कार्यन्वयनमा लैजान पार्टीगत रुपमा सहयोग गर्ने प्रतिद्धता जनाएका छन् । एकिकृत माओबादी नेतृ कृष्ण कुमारी घिमिरे, कांग्रेस नेतृ सारदा पौडेल र एमाले नेतृ सिता रेग्मीले मितब्ययी रुपमा तीज मनाउन आग्रह गर्दै भड्किलो तीजको पक्षमा राजनितिक दलहरु पनि नरहेको बताए । मञ्चकी अध्यक्ष सुस्मा पौडेलको अध्यगतामा सम्पन्न कार्यक्रममा महिला बिकास अधिकृत पूर्ण श्रेष्ठ, महिला उत्थान आमा समुहकी अध्यक्ष ईन्दिरा थापा, जगदम्वा आमा समुहकी अध्यक्ष दुर्गा पहारी, पत्रकार महासंघका केन्द्रिय सदस्य दुर्गा भण्डारी, पर्यटन ब्यबशायी मन्दरा ढकाल, जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष प्रभा कोईराला, नागरिक समाजका राम प्रसाद पौडेल लगायतले तीजलाई महिलाहरुको हक अधिकार स्थापित गर्ने चाडको रुपमा मनाउन आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...