पोखरा विश्वविद्यालय प्रदेश नम्बर १ मा आंगिक कलेज स्थापना गर्न स्विकृति

पोखरा, १३ कात्तिक / पोखरा विश्वविद्यालयको कार्यकारी परिषदले मोरङ्गको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल संयुक्त आंगिक कलेज स्थापनाको लागि स्विकृति प्रदान गरेको छ ।

प्रतिष्ठानलाई विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय तर्फ सिभिल ईञ्जीनियरिङ्ग र कम्प्युटर ईञ्जीनियरिङ्गका कार्र्यक्रमहरु संचालन अनुमति दिएको हो । प्रतिष्ठानले यस अघि पनि विभिन्न प्राविधिक विषयहरु अध्ययन अध्यापन गराउँदै आएको छ ।

प्रतिष्ठान र विश्वविद्यालयबीच सोमबार भएको सम्झौतामा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन बुद्धि राज जोशी र प्रतिष्ठानका तर्फबाट कार्यकारी अधिकृत विनोद अर्यालले हस्ताक्षर गरेका छन् ।

कलेजमा यसै शैक्षिक सत्रबाट ९६ सिट सिभिल ईञ्जीनियरिङ्ग र ४८ सिट कम्प्युटर ईञ्जीनियरिङ्गको अध्ययन अध्यापन शुरु गरिने छ । प्रतिष्ठानले विश्वविद्यालयको संयुक्त आंगिक कार्यक्रमका लागि सबै प्राविधिक तथा भौतिक पूर्वाधारको तयारी पुरा गरिसकेको छ ।

कलेजले विश्वविद्यालयको आंगिक कार्यक्रममा व्यवस्था भए बमोजिमकै शैक्षिक शुल्कमा अध्यापन गराउने र २० प्रतिशत विद्यार्थीहरुले समेत पूर्ण छात्रवृत्तिको अवसर प्राप्त गर्ने विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धि राज जोशीले बताए ।

यो निर्णयसँगै विश्वविद्यालय अब प्रदेश नं. १ मा समेत विस्तार भएको छ । हाल विश्वविद्यालयसँग ४ वटा आंगिक, २ वटा संयुक्त आंगिक र ५८ वटा सम्बन्धनप्राप्त कलेजहरु छन् । अब विश्वविद्यालय प्रदेश नं. २ र ६ बाहेक सबै प्रदेशमा ६५ वटा कलेजहरु सहित नेपालको दोस्रो सबैभन्दा बढि विद्यार्थी संख्या रहेको विश्वविद्यालयको रुपमा स्थापित भएको छ ।

कमेन्टहरु
Loading...