काँग्रेसको देशव्यापी चुनावी प्रशिक्षणमा टिकटका दाबेदारदेखि नेताहरुसम्म

सूर्यचन्द्र बस्नेत
काठमाडौँ, ८ भदौ । नेपाली काँग्रेसले आगामी संविधानसभाको निर्वाचनलाई केन्द्रमा राखेर देशका सबै निर्वाचन क्षेत्रअन्तर्गतका मतदान केन्द्रसम्म पुग्ने गरी प्रशिक्षण अभियान सुरु गरेको छ । केन्द्रीयनीति तथा प्रशिक्षण प्रतिष्ठानले समसामयिक राजनीतिक सवाल र निर्वाचन तयारीलाई केन्द्रमा राखेर प्रशिक्षण देशभरिका निर्वाचन क्षेत्रमा अभियान थालेको हो । प्रतिष्ठानका प्रमुख एवम् उपसभापति रामचन्द्र पौडेलले देशभरका कार्यकर्तालाई एकैसाथ प्रशिक्षित गरी निर्वाचनका लागि सङ्गठनमा ऊर्जा थप्दै निर्वाचनमय वातावरण बनाउन र काँग्रेसलाई पहिलो पार्टी बनाउन प्रशिक्षण अभियान थालिएको बताउनुभयो ।एनेकपा (माओवादी), नेकपा (एमाले), मधेसवादी तथा अन्य साना दलसमेत निर्वाचन घोषणापत्र तयारी, चुनावी सभा, पार्टीको अवस्थाबारे निर्वाचन क्षेत्रको स्थलगत अध्ययन र त्यसको आधारमा चुनावमा आफ्नो पार्टीको अवस्था विश्लेषणमा जुटेको बेला काँग्रेस पनि निर्वाचनलाई मूल आधार बनाई प्रशिक्षण अभियान लिएर जनतामाझ गएको हो ।
क्षेत्रीय समितिले प्रत्यक्ष र समानुपातिकको टिकटको सिफारिस गर्ने भएपछि प्रत्येक निर्वाचन क्षेत्रमा सुरु भएका यस्ता प्रशिक्षणमा टिकटका दाबेदार केन्द्रमा पार्टी कार्यालय र नेताका घर आँगन धाउनभन्दा गाउँकै कार्यकर्ता रिझाउन पुग्न थालेका छन् । केन्द्रीय नेतासमेतले त्यस्ता कार्यक्रममा पुगेर समसामयिक राजनीतिक विषयमा पार्टीको अवधारणा राख्ने गरेका छन् ।
एकातिर उम्मेदवारी सिफारिस तथा घोषणापत्र तयारी र अर्थ सङ्कलन समितिसमेत बनाइसकेको काँग्रेसले प्रशिक्षण अभियानलाई पनि तीव्रता दिएर पार्टीलाई पूरै चुनावमय बनाएको केन्द्रीय सदस्य जीवन परियारले बताउनुभयो । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रत्यक्षतर्फ तीनतीन र समानुपातिकतर्फ पाँच–पाँचजना उम्मेदवारको नाम सिफारिस गर्न क्षेत्रीय एवम् जिल्ला समितिलाई निर्देशन दिइसकेको छ ।
गत महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावलाई परिमार्जन गरी उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा घोषणापत्र लेखनका लागि १५ सदस्यीय समिति गठन गरेको छ । पार्टी सभापति सुशील कोइरालाको संयोजकत्वमा सात सदस्यीय चुनाव खर्चका लागि अर्थ सङ्कलन समितिसमेत गठन भइसकेको छ । पार्टीका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले केन्द्रीय समितिको बैठकमा निर्वाचन व्यवस्थापन तयारीबारे छलफल भएको र निर्वाचनलाई केन्द्रित गरी प्रत्येक निर्वाचन केन्द्र तहमा कार्यकर्तालाई जिम्मेवारी बाँडफाँड गरिने जानकारी दिनुभयो ।
“केन्द्रीय समिति बैठकमा पार्टीको महासमिति बैठकले तयार पारेको राजनीतिक प्रतिवेदनलाई निर्वाचन घोषणापत्रका रूपमा लैजानेबारे प्रस्ताव पेस भएको र सो प्रस्तावलाई अर्को बैठकले संशोधनसहित पारित गरी घोषणापत्रको रूपमा लैजाने भएको छ”, प्रवक्ता बडूले भन्नुभयो । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले निर्वाचनलाई ध्यानमा राखी २४० निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रका सदस्यलाई समसामयिक र निर्वाचन तयारीका विषयमा आधारित रही प्रशिक्षण दिने उद्देश्यले साउनको दोस्रो हप्ता राष्ट्रिय प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको थियो । प्रशिक्षणमा ३०० भन्दा बढी नेता, कार्यकर्ता र शुभेच्छुक संस्थाका सदस्यलाई प्रशिक्षित गराएको थियो ।
तीनै प्रशिक्षकले सबै क्षेत्रमा पुगेर भदौको तेस्रो हप्तासम्म प्रशिक्षण सक्ने गरी एक महिने अभियान सुरु भएको हो । टिकटका सम्भावित उम्मेदवारदेखि पार्टीका तल्लो निकायका पदाधिकारी, कार्यकर्ता र शुभेच्छुकको यी प्रशिक्षणमा बढी सक्रियता देखिएको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवम् काँग्रेस नेता मधु आचार्यले बताउनुभयो ।
“यो प्रशिक्षण कार्यक्रम निर्वाचनका सम्भावित उम्मेदवारका आकांक्षी र जिल्ला क्षेत्रदेखि गाउँतहसम्मका नेता कार्यकर्ता भेट्ने थलो बनेको छ, यसले प्रशिक्षणलाई प्रभावकारी बनाएको छ”, नेता आचार्यले भन्नुभयो । प्रतिष्ठानका सदस्य नागिना यादवले निर्वाचन केन्द्रित प्रशिक्षणमा स्थानीयस्तरका पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक अभिरुचिपूर्वक सहभागी भएको बताउनुभयो । “यसले काँग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा सशक्त ऊर्जा थपेको छ”, उहाँले भन्नुभयो ।
प्रशिक्षणमा तराईका २० जिल्लाका ११६ निर्वाचन क्षेत्र र हिमाल तथा पहाडका १२४ निर्वाचन क्षेत्रमा गरी झन्डै ५५२ जना प्रशिक्षक खटाइएको नेता आचार्यले जानकारी दिनुभयो । जसमा २०० महिला छन् । प्रशिक्षकका रुपमा सोही क्षेत्रका बुद्धिजीवी, पत्रकार, शिक्षक र कानुन व्यवसायीसमेत थप्न सकिने बताइएको छ । निर्वाचन लक्षित सो प्रशिक्षणमा गाउँ, नगर मतदान केन्द्र समितिका पदाधिकारी र सम्बन्धित क्षेत्रका गाउँ एवम् नगर इकाइ समितिका सभापति, सचिव र नगर वडा कार्यसमितिका कार्यसमितिका सभापति र सचिव रहनेछन् । आवश्यकताअनुसार महिला, दलित, जनजाति, युवा र भूपूसैनिकलाई क्षेत्रीय समितिले आवश्यकताअनुसार सहभागीका रुपमा राख्न सक्ने काँग्रेसले जनाएको छ ।
चुनावमा काँग्रेस कार्यकर्ताले जनतामाझ पार्टीका तर्फबाट भन्नुपर्ने सैद्धान्तिक, साङ्गठनिक र नीतिगत कुराबाहेक प्रतिस्पर्धी पार्टीसँग काँग्रेस के कारणले फरक छ भन्ने विषयमा मूलतः प्रशिक्षण दिइने प्रतिष्ठानका सदस्य जीतप्रकाश आलेले बताउनुभयो । ती प्रशिक्षणमा समसामयिक राजनीतिक विषय जस्तै सङ्घीयता, राज्यको शासकीय स्वरुप, समावेशीकरण र संविधानको अन्तरवस्तुमा नेपाली काँग्रेसको दृष्टिकोणबारे प्रकाश पारिनेछ ।
काँग्रेस र अन्य राजनीतिक दलबीचको भिन्नता, निर्वाचन अभियान एवम् चुनावी तयारी र पार्टीको घोषित आदर्श, सिद्धान्त, नीतिअन्तर्गत रही स्थानीय आवश्यकता र महत्वका विषयमा पनि जानकारी दिइनेछ । “मूलतः निर्वाचनमा जनताले उठाउने र अन्य दलसँगको प्रतिस्पर्धामा काँग्रेसले उत्तर दिनुपर्ने कुरामा प्रशिक्षण केन्द्रित हुनेछ”, प्रतिष्ठानका सदस्य आलेले भन्नुभयो । रासस

कमेन्टहरु
Loading...