‘चेन्नाई एक्सप्रेस’भन्दा ‘थ्री इडियट्स’को रेकर्ड पछाडी , १५ दिनमा २०३ करोड

बलिउडका वादशाह साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले बक्स अफिसका सम्पुर्ण रेकर्ड ब्रेक गर्दै आफूलाई नम्बर १ मा उभ्याएको छ । शुक्रबार चलचित्रले बक्स अफिसमा २.१२ करोडको व्यापार गर्दै आमिर खान अभिनित चलचित्र ‘थ्री इडियट्स’ले कमाएको २०२.४५ करोडको लाईफ टाइम कलेक्शनलाई उछिनेको हो ।यो चलचित्रले शुक्रबार सम्म २०२.६७ करोडको व्यापार गरेको छ । बलिउडमा कुनै पनि चलचित्रले अहिलेसम्म कमाएको सबैभन्दा ठूलो आँकडा ‘चेन्नाई एक्सप्रेस’को पोल्टामा गएको छ । चलचित्रले बलिउडमा आजसम्म बनेका सबै रेकर्डहरुलाई समेत तोडेको छ । चलचित्रको लाइफ टाइम कलेक्शन २२० करोड पुग्ने अड्कल काटिएको छ ।यस्तै यो चलचित्र ओभरसिजमा १ सय करोड माथीको व्यापार गर्ने बलिउडको तेश्रो चलचित्र बनेको छ । यसअघि ‘थ्री ईडियट्स’ र ‘माई नेम ईज खान’ले ओभरसिजमा १ सय करोड माथीको व्यापार गरेका थिए । रोहित सेट्टीको निर्देशनमा साहरुख खान, दीपिका पादुकोण अभिनित यो चलचित्रले बक्स अफिसमा आफ्नो रफ्तारलाई रोक्ने छाटकाँट देखाएको छैन । चलचित्रले प्रदर्शनको पहिलो ३ दिनमै १ सय करोडको आँकडालाई छोएको थियो । बलिउडमा २ सय करोडको क्लबमा पुग्ने यो दोश्रो चलचित्र हो ।
यो बर्ष नायिका दीपिका पादुकोणका लागि निक्कै सुखद देखिएको छ । यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘रेस २’ ले १०४ करोड, ‘ए जवानी हे दिवानी’ले १८८ करोड र ‘चेन्नाई एक्सप्रेस’ले १५ दिनमै २०३ करोडको व्यापार गरेको छ । बलिउड बादशाह साहरुख खानले आजसम्म ४ वटा १ सय करोड माथीको व्यापार गर्ने सिनेमा दिएका छन् । उनको भागमा ३ वटा सिनेमा ‘अल टाइम ब्लकबस्टर’को सूचिमा दर्जिएका छन् । यसअघि साहरुख अभिनित ‘दिलवाले दुल्हनिया ले जाएंगे’ र ‘कुछ कुछ होता हे’ अल टाइम ब्लकबस्टरको सूचिमा परिसकेका छन् ।

कमेन्टहरु
Loading...