पाटनवेशी टोल विकास संस्थाको साधरणसभामा २१ जना सम्मानीत

पाटनवेशी टोल विकास संस्थाको आठौं वार्षिक साधरणसभा तथा विविध सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । सो अवसरमा टोललमा एसएलसीमा उत्कृष्ठ अंक ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण हुने २१ जना छात्रछात्रालाई सम्मान गरिएको छ । टोलको विकासमा लामो समयदेखि उत्कृष्ठ कार्य गर्दै आएको भन्दै स्थानीय ज्येष्ठ नागरिकद्वय सूर्यनाथ उपाध्याय र सावित्री बराललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
टोलमै सबैभन्दा बढी अंक ल्याएर प्रवेशिका उत्तीर्ण विनिता तामाङलाई सो अवसरमा नन्दलाल स्मृति पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी पाँच सय रुपैयाँ रहेको छ । तामाङलाई टोल विकास संस्थाका तर्फबाट एक हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । कर्यक्रममा संस्थाका अध्यक्ष शिवकुमार भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको कार्ययोजना समेत प्रस्तुत गरे ।
नगरपालिका र जिल्ला विकास समितिसंगको सहकार्यमा टोलको विकासका लागि आफूहरु लागि परेको भन्दै आगामी दिनमा समेत विकासको लागि टोलका सम्पूर्ण बासिन्दाको सहभागिता आवश्यक रहेको बताए । टोलमा एक सय ९८ घर घुरी रहेको र पुरुष महिला गरी कुल जनसंख्या एक हजार ३५ रहेको जानकारी उनले दिए ।
सोही कार्यक्रममा कोषाध्यक्ष थकितमाया गुरुङले वार्षिक आयब्ययको हिसाव प्रस्तुत गरेकी थिइन् । पुरानो रकम उठ्न नसकेका कारण नयाँ ऋण लगानी गर्न नसकिएको भन्दै उनले बाँकि रकम उठाउन सम्पूर्ण सदस्यको सहभागिता आवश्यक रहेको बताइन् ।

कमेन्टहरु
Loading...