बर्गसंघर्ष बिना जातीय मुक्ति असम्भव–पोखरेल

पोखरा, ८ भदौ/एकीकृत नेकपा (माओवादी)का बरिष्ठ केन्द्रीय सदस्य लीलामणी पोखरेलले बर्गसंघर्ष बिना जातीय मुक्ति सम्भब नभएको बताएका छन् । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कास्कीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै नेता पोखरेलले बर्ग संघर्ष र साँस्कृतिक आन्दोलनलाई छुट्याउन नहुने बताए । पँुजीवादीहरुले जातीय आन्दोलनलाईमात्र उठाएर बर्गीय रुपमा शोषण गर्दै आएका छन्’ नेता पोखरेलले भने–‘जातीय बिभेद हटाउन पनि बर्गीय आन्दोलन पनि संगै लैजानुपर्छ ।’ सामन्तवादी साँस्कृतिक सम्बन्ध र उत्पादन सम्बन्धले विभेद पैदा गरेको बताउँदै उनले एकताको वलमा गरिने संघर्षले मात्रै विभेद हटाउन सकिने विचार ब्यक्त गरे ।
नेता पोखरेलले जातीय मुक्तिको लडाँई छुवाछुत हटाउनुमा मात्रै केन्द्रित नगरी सामाजिक, आर्थीक, साँस्कृतिक लगायतका शोषणबाट पनि मुक्त गर्न आन्दोलन केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा मुस्लिम मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष हकि उल्लाह खाँले राज्यले दलितहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्दै क्षतिपुर्ती दिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष कोमलनाथ बराल, एमाओवादी निर्वाचन क्षेत्र नम्बर ४ का संयोजक गुप्तबहादुर हमाल (सन्देश), पूर्व सभाषद दुर्गा बि.क लगायतले संविधानसभाबाट संविधान घोषणा नहुँदासम्म दलितहरुका अधिकार सुनिश्चित नहुने बताएका थिए । मोर्चाका अध्यक्ष शम्भु खातीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत पूर्व उपाध्यक्ष धनबहादुर बि.कले र सञ्चालन सचिव सरस्वती परियारले गरेकी थिईन ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कास्कीको अध्यक्षमा सरस्वती परियार निर्वाचित भएकी छन् । मोर्चाको पोखरामा शनिबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले परियारको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
एकीकृत नेकपा (माओवादी) निकटको मोर्चाको उपाध्यक्षमा कर्णबहादुर नेपाली, मनबहादुर बि.क र रामबहादुर बस्याल, सचिब चन्द्रकहादुर बि.क, सहसचिव रामबहादुर बि.क, टुकलाल नेपाली र रुपेश दर्जी तथा कोषाध्यक्षमा विकास सुनार निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष परियारले दलित समुदायमाथी हुने बिभेद तथा छुवाछुतको बिरुद्ध सशक्त अभियान थाल्ने प्रतिबद्धता जनाएकी छिन् ।
उनले दलित आन्दोलन अगाडि बढाउन आफुले सक्दो सहयोग गर्ने बताईन । बन्दसत्रमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका बरिष्ठ केन्द्रिय सदस्य तथा एमाओवादीका केन्द्रिय सदस्य दलजीत श्रीपालीले प्रशिक्षण दिएका थिए । निर्वाचित नयाँ कार्यसमितिलाई श्रीपाली, एमाओवादी कास्कीका नेता रामजी बराल (जीवन), पूर्व सभाषद दुर्गा बि.क र मोर्चाका बरिष्ठ केन्द्रिय सदस्य भीमबहादुर बि.क (क्षितीज)ले अविर लगाईदिएका थिए ।

कमेन्टहरु
Loading...