क्षेत्रबहादुर कुँवरको जीवनी संग्रहबारे चर्चा–परिचर्चा

पोखरा, ८ भदौ/सम्पदा कला मन्दिर नेपालले प्रकाशन गरेको साहित्यकार, शिक्षासेवी एवं
समाजसेवी क्षेत्रबहादुर कुँवरको जीवनी संग्रहबारे पोखरामा चर्चा–परिचर्चा
गरिएको छ ।

हरितालिका तीजको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान
कार्यक्रमबीच चर्चा परिचर्चामा वक्ताले कुँवरको जीवनी संग्रह नयाँ पुस्ताको
लागि प्रेरणादायी श्रोत रहेको उल्लेख गरे । जीवनी संग्रहबाट कुँवरलाई अझ
नजिकबाट चिन्ने मौका मिलेको बताउँदै उनीहरुले विभिन्न क्षेत्रमा रहेर पनि उनी
सफल व्यक्तित्व बन्न सकेको भन्दै अझै प्रगतिको शुभकामना दिए ।
लामो समय शिक्षण पेसामा बिताएका पोखरा मझेरीपाटनका साहित्यिक व्यक्तित्व
कुँवरको गत बैशाख पहिलो साता जीवनी संग्रह प्रकाशनमा आएको थियो ।
पुस्तकको पूर्वगर्भनरसमेत रहेका तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष
दीपेन्द्रबहादुर क्षेत्रीले विमोचन गरेका थिए । संग्रह विभिन्न क्षेत्रका ७४ जना
लेखकको लेखद्वारा सुसज्जित छ । सो संग्रहको सम्पादन डा. यामबहादुर क्षेत्री र
तोयनाथ लामिछानेले गरेका थिए ।
समारोहमा बोल्दै प्रमुख अतिथि लोकगायिकासमेत रहेकी प्राज्ञ हरिदेवी
कोइरालाले कुँवरजीको साहित्यिक पाइला अझै सिर्जनात्मक होस् भनी शुभकामना
दिइन् । साथै उनले संग्रह सबैको लागि प्रेरणादायी रहेको बताइन् । तीजको
शुभकामना दिदै उनले पछिल्लो समय तीजको मौलिकता हराउँदै गएकोमा पनि
दुःख व्यक्त गरिन् ।
संग्रहको सम्पादकद्वय डा. यमबहादुर क्षेत्री र तोयनाथ लामिछानेले पुस्तक
सम्पादनको जिम्मेवारी पाएकोमा आभार व्यक्त गरे । उनीहरुले कुँवरजीको
योगदानको कदर गर्दै समाजलाई कसरी रुपान्तरण गर्न सकिन्छ भन्नेमा उहाँको
सोच सदा रहने गरेको उल्लेख गरे ।
संस्थाका संरक्षकसमेत रहेका जीवनी संग्रहका नायक क्षेत्रबहादुर कुँवरले संग्रह
प्रकाशनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतीकले कुँवरको पाइला
हरेक क्षेत्रमा सशक्त रहने गरेको बताए । जीवनी संग्रहले उनलाई अझ नजिकबाट
चिनाएको बताए ।
कार्यक्रममा संस्कृतिकर्मी रामबहादुर कोइरालाले प्रतिकूल स्वास्थ्यका बाजबूद पनि
क्षेत्रबहादुर कुँवर सदा साहित्य, कला र संगीतको श्रीवृद्धिमा लागिपरेको बताए ।
उनले कुँवरको शिक्षा, राजनीतिक, फिल्म, पत्रकारितालगायत उनको पारीवारिक
प्रसंगको बारेमा पनि चर्चा गरेका थिए ।
बिग एफएमका अध्यक्ष महेश भण्डारीले कुँवरको जीवनी संग्रह पठनीय रहेको
बताउँदै युवापुस्ताको लागि उक्त संग्रह प्रेरणादायी रहेको बताए ।
हिमचुली एफएमका स्टेशन म्यानेजर दीलिपकुमार राईले संग्रहबाट कुँवरको
बाल्यकालदेखिको अवस्था र संघर्षको हरेक क्षण बुझ्ने मौका मिलेको बताए

कार्यक्रममा पोखरा फिल्म सोसाइटीका अध्यक्ष एवं फिल्म निर्देशक घनश्याम
लामिछाने, निवृत्त शिक्षक समुदायका कास्कीका सहसचिव डम्बरबहादुर थापा,
सल्लाहकार लेखनाथ पोखरेल, समाजसेवी रोमबहादुर कार्की, मानवअधिकार पत्रकार
संघका कावा अध्यक्ष राजेश पराजुली, पोखरापत्र दैनिकका प्रबन्ध निर्देशक नारायण
भण्डारी, महिला अधिकारकर्मी नन्दकला नेपालीलगायतले बोलेका थिए ।
सम्पदा कला मन्दिरका अध्यक्ष देशभक्तसिंह कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
स्वागत महासचिव विजय नेपालले गरेका थिए । सञ्चालन संस्थाका उपाध्यक्ष अम्बिका
राणा र कोषाध्यक्ष तिर्सना गुरुङले संयुक्त गरेका थिए । संस्थाका अध्यक्ष
कुँवरले प्रमुख अतिथि कोइरालालाई प्रशंसापत्र प्रदान गरेका थिए ।
समारोहमा सहभागीहरुले तीजको अवसरमा आपसमा शुभकामना साटासाट गर्दै तीजको
गीतमा नाचेर रमाइलो गरेका थिए । सोक्रममा संस्थाका अध्यक्ष देशभक्तसिंह
कुँवर तथा सदस्य सुरज आचार्यले तीजको गीत गाएर सहभागीलाई नचाएका थिए ।
‘स्रष्टाको सम्मान र उत्थानका लागि एकमात्र मन्दिरः सम्पदा कला मन्दिर’ भन्ने
मूलनाराका साथ संस्थाले हरेक वर्ष कला, साहित्य र संगीतलगायत क्षेत्रमा
योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान तथा अवार्ड प्रदान गर्दैआएको
संस्थाका सल्लाहकार रामदेवी कुँवले जनाइन् ।

कमेन्टहरु
Loading...