उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको बैठक गोर्खामा

गोर्खा,२० साउन / नेपाल उद्योग वाणिज्य महांसंघ गण्डकीले थप तीनवटा नगर उद्योग वाणिज्यलाई महासंघको सदस्यता प्रदान गरेको छ । यो निर्णयसँगै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फको सदस्य संख्या १६ पुगेको छ ।
गोर्खामा शनिबार सम्पन्न छैटौँ बैठकले नवलपुरको कावासोतीमा रहेको नवलपुर उद्योग वाणिज्य संघ, नवलपरासीको सुस्ता पूर्वको देवचुली उद्योग वाणिज्य संघ र बयरघारी स्याङ्जाको भिरकोट उद्योग वाणिज्य संघलाई सदस्यता प्रदान गरेको हो ।

यसैगरी बस्तुगततर्फ नेपाल मुद्रण उद्योग संघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण संघ,पोखरा र सुनचाँदी व्यवसायी संघ कास्कीलाई बस्तुगत सदस्यता प्रदान गरिएको महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले जनाउनुभयो । यसैगरी बैठकले लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको सभापतित्वमा रोजगारदाता परीषद पनि गठन गरेको छ । श्रम क्षेत्रमा आउने समस्या समाधान गर्ने उदेश्यले सो परीषद गठन गरिएको हो ।

बैठकमा बोल्दै महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले आर्थिक एजेण्डाहरुमा केन्द्र तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउन कुनै कसर बाँकी नराखिने वचनवद्धता व्यक्त गर्नुभयो । देशसँगै संघीय संरचनामा गएको नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थासँग केन्द्र, प्रदेश र स्थानीय सरकारले सहकार्य गर्नुपर्नेमा उहाँको जोड थियो ।

बैठकको आतिथ्यता प्रदान गरेको गोर्खा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले सरकारले व्यवसाय दर्ता र संचालनको लागि एक्कासी शुल्क र कर बढाउँदा समस्या उत्पन्न भएको गुनासो गर्नुभयो । कार्यक्रममा गोर्खा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ,नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका जिल्ला नगरतर्फका उपाध्यक्ष कृष्णराज पंडित तथा एसोसियटतर्फका उपाध्यक्ष मोतिप्रसाद पौडेलले पनि मन्तव्य राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...