सराङकोटबाट हेमजामा जिप फ्लाएरबाट सरर

पोखरा, २३ असोज/ पर्यटन प्रर्बद्धन संगै व्यापार गर्ने उद्देश्यले नेपालमै पहिलोपटक तीन जना युवा मिलेर एड्भेन्चर मन पराउने पर्यटकहरुलाई लक्षित गर्दै ‘जिप फ्लाएर’ संचालनमा ल्याएका छन् । भरत गोल्छा, शरद गोल्छा र अभिनव तिरुवाल मिलेर करिब १३ करोड रुपैँया लगानी गरेर निर्माण गरेको जिप फ्लाएर संचालनमा आएको हो । सराङकोटको टुप्पोबाट हेमजा गाविसको याम्दी सम्म जिप फ्लाएरकै लागी केबल तानिएको छ ।

सराङकोटको डाँडाबाट २ हजार फिट तल हुईकिँदै करिब १ मिनेट ३० सेकेन्डमा हेम्जासम्म आईपुग्ने गरि बनाईएको जिप फ्लाएर संसारकै सबैभन्दा लामो र अग्लो भएको कम्पनीले दाबी समेत गरेको छ । ‘संसारकै सबैभन्दा सुन्दर ठाउँमा बनेको सबैभन्दा अत्याधुनिक र उत्कृष्ट जिप फ्लाएर हो यो ।’ नेपालमै पहिलोपटक जिप फ्लाएर संचालन गरेको कम्पनी हाईग्राउण्ड एड्भेन्चर्सका म्यानेजर अभिनव तिरुवालले भने–‘जिप फ्लाएरमा बसेर जिपिङ गर्दा पर्यटकले यहाँ संसारकै नौलो अनुभव गर्नेछन् ।’

संसारकै अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको जिप फ्लाएरमा जिपिङको अनुभव लिनका लागी नेपालीहरुले ३ हजार ८ सय ५० रुपैँया तिर्नुपर्छ भने विदेशी पर्यटकहरुले पाँच हजार ८ सय ९० रुपैँया तिर्नुपर्छ । म्याग्नेटिक ब्रेकिङ सिस्टम भएको जिप फ्लाएरमा पुर्णतया लक गरिएको केबल प्रयोग भएका कारण कुनै दुर्घटनाको डर मान्नु नपर्ने उनले बताए ।

समुद्री सतहबाट पाँच हजार ३२ फिट अग्लो रहेको सराङकोटबाट ३ हजार फिट तल झर्नका लागी जिप फ्लाएरबाट झर्न बढिमा २ मिनेट लाग्ने संचालक मध्येका एक भरत गोल्छाले दाबी गरे । ‘अन्नपुर्ण हिमश्रृंखलाको मनोरम दृश्य अवलोकन गर्दै सराङकोटको डाँडाबाट चिप्लिएर हेमजा झर्नुको आनन्द कस्तो होला ?’ उनले भने– ‘साहसिक कार्य गरेर रमाउन खोज्नेहरुका लागी जिप फ्लाएरको जिपिङले निकै आनन्द दिलाउनेछ ।’

गोल्छा अर्गनाइजेसन र मंगलम समुहको लगानी रहेको छ । नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत पर्यटकहरु पोखरा र अन्नपूर्ण पदयात्राका लागि आउने गरेका छन् । पर्यटकको लागि लक्षित गरी निर्माण गरिएको साहसिक यात्राले पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।

कमेन्टहरु
Loading...