भेला र प्रशिक्षणमा एकीकृत माओवादी

श्रावण ३२, पोखरा /एकीकृत माओवादीको एक महिने जनसम्बन्ध सुदृढीकरण अभियान अन्तरगत कास्कीको लेखनाथ नगरका वडा नं. ४, ५, ६ र ७ को संयुक्त प्रशिक्षण भेला शुक्रबार सम्पन्न भएको छ । प्रशिक्षण भेलालाई सम्बोधन गर्दै एकीकृत माओवादीका केन्द्रीय सदस्य सुकबहादुर रोकाले निर्वाचन नरोकिने भन्दै दृढताका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । नेता रोकाले भन्नुभयो –‘संविधान सभाको अर्को विकल्प छैन, जनताका प्रतिनिधिविना कतैबाट बन्ने संविधान जनताको हुन सक्दैन, तसर्थ निर्वाचन भएरै छाड्छ ।” माओवादीको विजयबाट आतंकित भएर कतिपय शक्तिले चुनावप्रति संशय पैदा गरेको भन्दै नेता रोकाले ‘सहज रुपमा नभएर जनदवावको बलमा भएपनि निर्वाचन भएरै छाड्ने ठोकुवा गर्नुभयो । कार्यक्रममा माओवादी क्षेत्र नं. १ का संयोजक गंगा पोखरेलले आगामी निर्वाचनमा माओवादीले एक नम्वर क्षेत्रमा भारि बहुमतले जित्ने भन्दै त्यसको तयारी आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा चलचित्र निर्देशक तथा अखिल नेपाल चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष शिबजी लामिछाने, लेखनाथ नगरका अध्यक्ष विनय थापा लगायतले बोल्नुभएको थियो ।
भेलामा शालिग्राम पौडेल, बाबुराम सुवेदी, अर्जुन मल्ल, विनोद तिवारी, निर्मला सुवेदी, बोधराज लामिछाने, छवि लामिछाने, पुष्पकमल ढुंगाना, जीवन विक, नेपबहादुर बुढाथोकी, गोपालमणि लामिछाने लगायतको उपस्थिति थियो । हिरामणि लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मेघराज भण्डारीले गर्नुभएको थियो ।
यसै गरि अभियानकै क्रममा पोखरा वडा नं. ७ मा योङ्ग कम्युनिष्ट लीगको वडा भेला सम्पन्न भएको छ । भेलाले अध्यक्ष लक्ष्मण अधिकारी, उपाध्यक्ष बलबहादुर थापा र सचिव सुष्मा गुरुङ रहेको ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमेन्टहरु
Loading...