बेगनासको आनन्द ज्योति माविमा बालीविज्ञान विषयको पढाइ हुने

पोखरा,१३ साउन/पोखरा लेखनाथ महानगरपालिका—३१ बेगनासमा रहेको आनन्द ज्योति माविमा बालीविज्ञान विषयको पढाइ हुने भएको छ । स्थानीय स्रोत साधनमैत्री व्यावहारिक शिक्षा दिन विद्यालयको निजी स्रोत र स्थानीयबासीको आर्थिक सहयोगमा प्रवीणता प्रमाणपत्रतह सरहको अध्यापन सुरु गर्न लागिएको हो । प्राविधिक र जीवनोपयोगी शिक्षाका लागि समय खर्च गरेर टाढा धाउन नपरोस भनेर कक्षा ११ र १२ मा यो विषय अन्तर्गतका छुट्टै कक्षा सञ्चालन गर्न लागिएको हो । यसका लागि १५ लाख रुपैयाँ विद्यालयको अक्षयकोषमा जम्मा भइसकेको छ ।

विद्यालय भवनका ३ वटा कोठा बालिविज्ञान अध्ययनका लागि छुट्याइएको छ । उक्त कोर्स सञ्चालनका लागि साइन्स ल्याब, शिक्षक तथा अन्य भौतिक, आर्थिक तथा मानवीय संरचना तयार गर्न यतिखेर विद्यालय जुटको छ । ल्याबका लागि थप खर्च धेरै निस्कने भएकाले थप बजेटका लागि संस्थागत सहकार्यको पहल पनि गरिएको विद्यालयका प्रधानाध्यापक शुक्रराज अधिकारीले बताए । विद्यालय, स्थानीयबासीको पहलमा विद्यालयमा उक्त कोर्स सञ्चालन गर्न लागिएको हो । व्यवसायी पदमराज पौडेल र नरेन्द्र ढुंगानाले क्रमश ५ लाख र ४ लाख रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् ।

उक्त विषय कोर्स सञ्चालनार्थ सहयोगका लागि अभिभावकबाट समेत रकम जुट्ने क्रम जारी छ । अहिलेसम्म स्थानीय गोकर्ण तिवारीले २ लाख रुपैयाँ, भण्डारढिक शिक्षा स्रोत केन्द्रका स्रोतव्यक्ति विष्णु तिवारीले ५० हजार रुपैयाँ, स्थानीय सूर्यप्रसाद अधिकारीले ५० हजार रुपैयाँ र वडा नम्बर ३१ का वडाध्यक्ष कमलबहादुर थापाले २५ हजार रुपैयाँ विद्यालयलाई सहयोग दिएका छन् । बालिविज्ञान कोर्स सञ्चालनका लागि सिटिइभिटीको टोलीले उक्त विद्यालयमा २ पटकसम्म अनुगमन गरिसकेको छ । अनुगमनबाट उक्त विद्यालयमा बालिविज्ञान अध्यापन उपयुक्त देखिएकाले अब अनुमतिपत्र मात्र लिन बाँकी भएको प्रधानाध्यापक अधिकारीले बताएको समाधान दैनिकमा खबर छ ।

कमेन्टहरु
Loading...