पोखरा, ७ साउन /‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ १५ औं संस्करणको बोलबम जलयात्रा पोखरामा सुरु भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बोलबमधाम, बैदामले हरेक वर्ष साउन सोमबार आयोजना गर्दैआएको बोलबम जलयात्रा सुरु भएको हो ।
साउनको पहिलो सोमबार भएकोले केदारेश्वर मन्दिरमा ठूलो संख्यामा भक्तजन बिहानैदेखि दिउँसो अबेरसम्म पूजाआजा गर्न व्यस्त देखिन्थे । यसपालि साउनमा ४ वटा सोमबार परेका छन् । शिवलिङ्गमा पवित्र जल तथा बेलपत्र चढाउन कास्कीका विभिन्न स्थान सहित छिमेकी जिल्लाबाट समेत भक्तजन मन्दिरमा आएको मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले बताए ।
बोलबम संयोजक शंकर खरालले १५ वर्षअघि केदारेश्वरले सुरु गरेको बोलबम यहाँको संस्कृति बन्दैगएको बताउँछन् । बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई विगतदेखि व्यवस्थापन गर्दैआएको छ । गाईघाटदेखि नै शोभायात्रासहितको झाँकी बजारका विभिन्न भाग परिक्रमा गरी मन्दिर पुगेको थियो ।

गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मन्दिरका १०८ शिवलिङ्गमा जलार्पण गर्ने सुविधाका कारण केदारेश्वरमा भक्तजनको बढी घुइँचो लाग्ने गर्दछ । साउन भगवान् शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
भक्तजनलाई पोखरा वडा ६ महिला समन्वय समितिले प्रसाद वितरण गरी सहयोग गरेको थियो । समितिमा १८ वटा महिला समूह आवद्ध छन् । यस्तै, पृथ्वी होटल व्यवसायी समिति, सत्य साई केन्द्र, सिर्जनाचोक व्यवसायी समिति, रोटरी क्लब तथा रामजी बानियाँको समूहले पनि मन्दिर परिसर तथा सडकमा सर्वत पानी खुवाएको थियो । सामाजिक जागरणका लागि नारी अभियानले मन्दिर परिसरमा माग्न बसेका असहायलाई खाजा खुवाएको अभियन्ता सुष्मा पौडेलले जानकारी दिइन् ।
आर्वा भजन समूह, अन्नपूर्ण भजन समूह, देवी शक्ति खोज अनुसन्धान केन्द्रलगायतले शिव महिमासम्बन्धी भजनकीर्तन प्रस्तुत गर्दै भक्तजनलाई नचाएका थिए । सिद्धार्थ पोलिक्लीनिक प्रालिले प्राथमिक उपचार डेस्क खडा गरेको थियो ।





