श्याम राना
पोखरा, ३० असार /उपन्यास ‘काठमाडौंमा एक दिन’की लेखिका सिवानी सिंह थारुले पुरस्कार जितेर मात्रै पुस्तकलाई अब्बल भन्न नमिल्ने बताएकी छन् । ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालले आयोजना गरेको पुस्तक संवादमा थारुले विश्वका थुप्रै महान पुस्तकहरु बिना कुनै पुरस्कार, बिना कुनै उपाधी आफ्नै बलमा उभिएको सम्झदै आफूले लेख्न चाहेको बिषलाई पुस्तकमा उर्तान सफल भएको बताइन् ।
उनले मधेषी र दलित आन्दोलनको बारेमा बोल्न जरुरी देखेकाले आफुले आख्यानको रुपमा मधेषी दलितका मुद्दालाई पुस्तकमा उतारेको सुनाइन् । उनले पुस्तकबाट सन्तोषजनक प्रतिकृया पाउन नसकेकोमा आफूलाई कुनै असन्तुष्टि नरहेको बताइन् । पुस्तकलाई चित्रकलाजस्तो एकपटक गरिसकेपछि सकिने बिधा नभएको बताउदै पुर्नलेखन र अनुसन्धानले बढि समय लागेको दाबि गरिन् ।
‘मैले जसका लागि पुस्तक लेखेकी थिएँ, त्यस समुदायबाट आएको प्रतिकृयाले मलाई खुसी बनाएको छ,’ उनले भनिन्, ‘बहस गरिनुपर्ने बिषयमा कुरा उठ्न थालेको छ । लेखकको लागि त्यो नै ठूलो उपलब्धी हो जस्तो लाग्छ ।’ सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेसंगको संवादमा थारुले पुस्तकको कभर हेरेर आलोचनामा उत्रिनेहरुलाई पहिले पुस्तक पढ्न अनुरोध गरिन् ।
सोसाइटीका पूर्वअध्यक्ष गनेस पौडेले काठमाडौंमा एक दिनले थारु समुदायका स्थानीय लवजलाई नेपाली मुलधारमा ल्याउन महत्वपूर्ण भुमिका खेलेको बताए । उनले यो पुस्तक नपढ्नेहरुले नेपाली समाजमा आधारित एक महत्वपुर्ण पुस्तक पढ्न छुटाउने धारणा राखे ।