पोखरा, २१ असार /प्रदेश नं. ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यावरण जोगाउने तथा आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिन चरा संरक्षणमा लाग्नुपर्ने बेला आएको बताएका छन् । पर्यटन प्रवद्र्धनका लागि पोखरामा हिजोबाट शुरु भएको त्रिदिवसीय चरा महोत्सवलाई सम्बोधन गर्दै मन्त्री लम्सालले नेपालमा पाईने बिभिन्न प्रजातिका चराहरुको संरक्षण गरी पर्यटकहरु भित्र्याउन सकिने बताए ।
मन्त्री लम्सालले प्रदेश ४ मा पाईने सबै प्रकारका चराका प्रजातिको अवस्था र स्थितिबारे अध्ययन र संरक्षण गर्न मन्त्रालयले नयाँ कार्ययोजना अगाडी सार्ने समेत बताए । नेपालमा चरा पर्यटनको सम्भावना बलियो रहेको उल्लेख गर्दै मन्त्री लम्सालले चराहरुको संरक्षण गरी बिदेशी पर्यटकहरुको गन्तव्य स्थलको रुपमा चराको वासस्थानलाई विकास गर्न सकिने बताए ।
मानिस र चराचुरुंगीको पुरानो सम्बन्धलाई प्रगाढ बनाउन तथा धार्मिक, सांस्कृतिक आस्था र सम्बन्धसँग पनि चराचुरुंगीले सरोकार राख्ने हुँदा चरा जोगाउनु सबै मानिसको कर्तव्य रहेको बताए । चरा संरक्षणको लागि समुदायस्तरमा जनचेतना फैलाउन चरा महोत्सवले भूमिका खेल्न उनको भनाई थियो । चरा संरक्षण गरे पर्यटकको आगमन बढ्ने र आर्थिक रुपमा देशलाई फाइदा हुने भन्दै चरा संरक्षणका लागि सिमसार क्षेत्र जोगाउनपर्नेमा जोड दिए ।
नेपालमा चरा हेर्नकै लागि पनि पर्यटक आउन थालेको बताउदै संकटमा परेका बिभिन्न प्रजाति चराहरुलाई संरक्षण गर्न जरुरत रहेको बताए । चराहरुलाई पनि पर्यटन उपजको रुपमा विकास गर्न सकिने भन्दै चराको पहिचान र संरक्षणमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको मन्त्री लम्सालको भनाई थियो ।
नौ वटा ताल, जंगल र पहाडी भूगोल भएको पोखरा महानगर विभिन्न प्रजातिका चराको बासस्थान र फिरन्ते प्रजातिका चराका लागि अन्यत्र जान ‘ट्रान्जिट प्वाइन्ट’ भएको पोखरा पन्छी समाजका महासचिव हेमन्त ढकालले बताए । नेपालमा हालसम्म ८ सय ८७ प्रजातिका चरा पाइएको रेकर्ड छ । ति मध्ये पोखरा उपत्यकामा ४ सय ६३ प्रजाति पाइने रेकर्ड भएको महासचिव ढकालले बताए ।