मन्त्री किरण गुरुङ र डा.जगमान गुरुङलाई बहिष्कार, तमुवान—मगराँत नभए अनिश्चितकालिन बन्द गर्ने चेतावनी

पोखरा, २१ असार/तमुवान—मगराँत संघर्ष समितिले तमुवान—मगराँतको पहिचान विरुद्ध भ्रम फिजाइको भन्दै प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र सँस्कृतिविद डा.जगमान गुरुङलाई सामाजिक बहिष्कार गर्ने भएको छ।

संघर्ष समितिको बिहीबार सम्पन्न बैठकले पहिचानको आन्दोलनको विरुद्ध बिषबमन गरेको भन्दै संघर्ष समिति सहित समितिमा आवद्ध कस्केली आदिवासी जनजाति संघ संस्थाले मन्त्री गुरुङ र सँस्कृतिविद डा.गुरुङलाई कुनै कार्यक्रममा आमन्त्रण नगर्ने, उनीहरु सहभागी रहेको कार्यक्रमको समेत बहिष्कार गर्ने घोषणा गरेको हो।

यस भन्दा अघि संघर्ष समितिले पहिचान विरुद्ध भ्रमित बनाउने नेता, विद्धान, लेखक लगायतलाई सच्चिन आग्रह गरेको भए पनि प्रदेश नामाकरणको सवालमा तमुवान विरुद्ध नै पटक पटक बोल्ने, प्रचारबाजी गर्ने गरेकाले मन्त्री र सँस्कृतिविदलाई वहिष्कार गर्ने निर्णय गरेको समितिले जनाएको छ।

यसरी नै संघर्ष समितिले आदिवासी जनजाति कोटाबाट प्रदेश सभा सदस्य बन्ने अवसर प्राप्त गरी आदिवासी जनजातिको आवाज नउठाई राजनीतिक दलका खेलौना बनेका आदिवासी जनजाति कोटाका प्रदेश सभा सदस्यहरुलाई समेत बहिष्कार गर्ने निर्णय गरेको छ। आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि आवाज उठाउन आदिवासी जनजातिको आन्दोलनको उपलब्धि स्वरुप प्राप्त कोटाका सभा सदस्यहरु पटक पटक आग्रह गर्दा पनि गैर जिम्मेवार बनेकाले बहिष्कार गर्नुपरेको समितिले जनाएको छ।

प्रदेशको नामाकरणको बारेमा प्रदेश सभामा छलफल शुरु भईरहदा संघीयता मर्म र राज्यपुनसंरचनाको आधार बमोजिम तमुवान—मगराँत प्रदेश नामाकरण गर्नुपर्नेमा अन्यथा गरिए प्रदेश नं. ४ अनिश्चितकालिन बन्दको चेतावनी समितिले दिएको छ। समितिले पहिचान सहितको तमुवान—मगराँत प्रदेश नामाकरण गर्न माग र पहिचान विरुद्ध हुने षडयन्त्रका विरुद्ध शुक्रवार महेन्द्रपुलबाट विरोध र्याली निकाल्ने जनाएको छ ।

तमुवान—मगराँत प्रदेश नामाकरण हुनुपर्ने लगायतका आफ्ना मागहरु सम्बोधन नगरी पञ्चायत कालिन गण्डकी नामाकरण गरिए असार २४ गते आइतवार चिप्लेढुगा मानवअधिकार चोकबाट शवयात्रासहित गण्डकी प्रदेश नामको अन्त्येष्टि गरिने भएको छ। तमु लगायत आदिवासी जनजातिका संस्कार अनुसार पच्य, क्हेप्री, लम लगायतले विधि पुर्वक उक्त गण्डकी नामक शबको तुलसी घाटमा लगि अन्त्येष्टि गरिने संघर्ष समितिकी संयोजक कर्म तमुको अध्यक्षतामा सम्पन्न बैठकले निर्णय गरेको छ।

कमेन्टहरु
Loading...