‘कोरियामा मान्छे हैन सामान पठाऊ’

पोखरा, ३० साउन । दक्षिण कोरिया रोजगारीको मात्र नभई नेपाली हस्तकला, पस्मिना, गलैँचा, खाद्यान्न लगायतका उत्पादन निर्यातको उपयुक्त थलो हुनसक्ने देखिएको छ । दक्षिण कोरियास्थित मियोन्जी विश्वविद्यालयका प्राध्यापक बेल जेसी पार्कले सो संभावना देखाएका हुन् । 
नेपालको निर्यातयोग्य बस्तुको पहिचान गर्न आफ्ना विद्यार्थीहरुसहित नेपाल आएका उनले बुधबार पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भने–‘हामी तपाईँहरुलाई सहयोग गर्न तयार छौँ ।’उनले कोरिया नेपाली उत्पादनको संभाव्य निर्यातस्थल हुन सक्ने संभावना औंल्याउँदै नेपाली उत्पादनको गुणस्तर सुधार्न पनि सुझाव दिए । नेपाली उत्पादनहरु गुणस्तरीय भए पनि प्याकेजिङ, लेवलिङ लगायतका क्षेत्रमा कमजोर हुँद अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेका छैनन । उनले नेपाली उत्पादनहरु कोरिया निर्यातको लागि साझेदार खोजिदिने प्रतिवद्धता पनि जनाए ।
कोरियन प्रतिनिधिमण्डलको स्वागत गर्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले नेपालमा लगानीको लागि उपयुक्त थलो भएकोले कोरियन ब्यवसायीहरुलाई लगानीको लागि आग्रह गरे ।उनले ब्यवसायमा कोरियनहरुसँग हातेमालो गर्ने विभिन्न क्षेत्रहरु रहेकाले सो दिशामा अगाडि बढ्ने प्रतिवद्धता पनि जनाए । उनले नेपाली उत्पादनहरुको गुणस्तर सुधार्न कोरियन सहयोगको अपेक्षा पनि राखे । हाल नेपालले बार्षिक ३ करोड ८० लाख रुपैयाँ जतिमात्र निर्यात गर्दै आएको छ । अन्तरक्रियाका कार्यक्रममा कोरियन प्रतिनिधिमण्डलका सदस्य तथा पोखरामा रहेका ब्यवसायीहरुबीच नेपाली उत्पादन तथा कोरियाको बजारको अवस्थाबारे जानकारी आदान प्रदान भएको थियो ।

कमेन्टहरु
Loading...