काठमाडौ, २८ साउन । सर्वोच्च अदालतले सबै खाले सिण्डिकेटको अन्त्य गर्न दिएको आदेश विरुद्ध कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले स्थानीय यातायात सिण्डिकेटलाई संरक्षण गरेर आफूहरुको करोडौ रुपैयाको लगानी डुब्ने स्थीति उत्पन्न गरेपछि आक्रोसित यूवाहरुले हतियार उठाउने चेतावनी दिएका छन् ।
विन्ध्यवासीनी यातायात ब्यवसायी समिति पोखराले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पोखरा नगर क्षेत्र र आसपासको ग्रामिण क्षेत्रमा स्तरीय सेवा दिने गरी ५८ बटा एयरकण्डिसन बससहित २०६९ कार्तिक १४ गते रुट पर्मिटकालागि गण्डकी अञ्चल यातायात ब्यवस्था कार्यालयमा निवेदन दिए पनि लामो सयमदेखि सिण्डिकेट सञ्चालन गरिरहेका पोखरा बस ब्यवसायी समिति र ट्याक्सि ब्यवसायी समितिको आर्थिक प्रलोभनमा परेर आफूहरुलाई पर्मिट नदिई लगानी डुबाउने षडयन्त्र गरेको आरोप लगायो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष समबहादुर गुरुङगले भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्रालयले सिण्डिकेट तोडेर अनुमति दिन पटक पटक लिखित निर्देशन दिए पनि यातायात ब्यवस्था कार्यालयका प्रमुख सुनिल खनाल र प्रजिअ कोइरालाले सिण्डिकेट सञ्चालन गरिरहेका समितिहरुको आर्थिक चलखेलमा परि नयाँ सवारी दर्ता नगर्ने निर्णय गरेको आरोप लगाए ।
मुलुकको प्रमुख पर्यटकीय गन्तब्य पोखरा स्थानीय र पर्यटकलाई स्तरीय सेवा दिएर नेपालको पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यका साथ ल्याईएका सुविधा सम्पन्न सवारी साधनलाई विस्थापित गर्न र राज्यको नीति विपरितको सिण्डिकेटलाई निरन्तरता दिन यातायात ब्यवस्था विभागका निर्देशक देविराम भण्डारीको संयोजकत्वमा कथित अध्ययन समिति बनाएर आफूहरुको लगानी डुबाउने षडयन्त्र गरिएको पत्रकार सम्मेलनमा समितिका प्रवक्ता यूवराज खतिवडाले दावी गरे ।
पुरानो सिण्डिकेटको को बर्चश्व कायम राख्ने योजनाकासाथ गठन गरिएको सो समितिले नयाँ सवारी साधान आवश्यक नरहेको निष्कर्स सहितको प्रतिवेदन बुझाउन लागेको गोप्य सूचना आफूले पाएको उनले बताए । कतैबाट पनि आफूहरुको समस्याको सुनवाई नभएपछि प्रजिअ कोइराला र सिण्डिेकट सहितका पक्षपोषण गर्नेका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको विषयलाई लिएर आफूहरुविरुद्ध प्रजिअ कोइरालाले सार्वजनिक अपराधको मुद्दामा बारेन्ट जारी गरेर पोखराबाट विस्थापित गरेको प्रवक्ता खतिवडाले गुनासो गरे । पत्रकार सम्मेलनमा उनले भने–सिडिओले आफ्नो पनि अख्तियारमा मान्छे भएको भन्दै अख्तियारमा हालेको उजुरी फिर्ता नलिए कुनै पनि पेशा ब्यवसाय गर्न विदेश जान रोक लगाउने चेतावनी दिदै पूर्व राज्य मन्त्री करिमा बेगमलाई त तह लगाए भने तिमिहरुलाई तह लगाउन कुनै गाह्रो छैन । भनेर धम्क्याए ।
अहिले विन्ध्यबासिनी यातायात बस ब्यवसायी समितिका अध्यक्ष समबहादुर गुरुङ, कोषाध्यक्ष बलबहादुर गुरुङग र प्रवक्ता खतिवडालाई प्रजीअ कोइरालाले पक्राउ पुर्जी जारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । रुट पर्मिटकालागि तयार पारेर राखिएको सम्पूर्ण सारी साधनहरु समेत चलाउन नदिई प्रजिअले नियन्त्रणमा लिए पनि आफूहरु चर्को ब्याजको मारमा परेको उनीहरुको भनाई छ ।
प्रवक्ता खतिवडाले चर्को ब्याजदरको कारण आफूहरुले अब १५ दिन भन्दा बढी कुर्न नसक्ने स्पष्ट पार्दै सो अवधीमा आफूहरुलाई रुट पर्मिट नदिए बाध्य भएर यातायात ब्यवस्था कार्यालय, प्रमुख जिल्ला अधिकारी र सिण्डिकेट पक्षधरहरु विरुद्ध सशक्त आन्दोलन थाल्न बाध्य हुने चेतावनी दिए । पत्रकार सम्मेलनमा उनले भने– हामि लगानी डुबेर मर्ने अवस्थामा पुगेका छौ । यसै मर्छौ उसै मर्छौ षडयन्त्रकारीहरुलाई सखाप पारेर छाड्छौ ।
