कर्मचारीले जागिर छाडेपछि २ वर्ष आईएनजीओमा काम गर्न नपाने- मन्त्री पण्डित

पोखरा, ३ असार /संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघिय निजामती ऐन छिटै आउने बताएका छन् । मन्त्री पण्डितले निजामती ऐन आएपछि स्थानीय तहका कर्मचारीलाई पनि अन्य क्षेत्रमा हेरफेर गर्न सकिने बताए । उनले नगरपालिका र महानगरपालिकाका कर्मचारीहरु सरुवा नहुने परम्पराले काम गर्न कठिन भएको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नयाँ ऐनमा सरकारी कर्मचारीले अवकासको २ वर्षसम्म कुनै पनि एनजीओ, आईएनजीओमा काम गर्न नपाउने व्यवस्था गर्न लागेको बताए । उनले राष्ट्रसेवक कर्मचारी माथिल्लो पदबाट अवकास पाउने वित्तिक एनजीओ, आईएनजीओमा काम गर्दा राष्ट्रको सूचनाको दुरुपयोग हुने गरेको बताए ।

मन्त्री पण्डितले जहिलेसम्म राष्ट्रसेवक हुने हो त्यतिबेला सम्म उत्साहित भएर काम गर्नुपर्ने बताए । कर्मचारीलाई नेपाल सरकारले २४ घण्टामा जुनसुकै बेला जहाँ पनि खटाउन सक्ने भन्दै उनले काठमाडौमा मात्रै जागिर खान्छु भन्नु गलत हुने बताए । जागिर खाएर पनि पढ्ने मात्रै, काम नगर्नेमाथि निगरानी भइरहेको उनले भनाई थियो ।

उनले स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भइसकेको बताए । नभएका ठाउँमा पनि छिट्टै हुने बताए । प्रदेश लोक सेवा आयोग मार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताए । उनले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कार्वाहीको प्रक्रिया अगाडी बढाएको बताए । उनले अब एउटा मात्रै निर्वाचीत टे«ड युनियन बनाउन पाने ऐन ल्याउने बताए ।

कमेन्टहरु
Loading...