केदारेश्वरमा साउनको अन्तिम सोमबार बोलबममा भक्तजनको भीड

पोखरा, २८ साउन/साउन महिनाको चौथो तथा अन्तिम सोमबार पोखरामा आयोजित बोलबम कार्यक्रममा भक्तजनको भीडले आयोजकलाई व्यवस्थापनमा हम्मे–हम्मे परेको छ । पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरमा आज पनि बिहानैदेखि जल चढाउन भक्तजनको भीड लागेको हो ।
गाइघाटदेखि सुरु बोलबम जलयात्रामा पनि भक्तजनको सहभागिता अघिल्ला सोमबारको तुलनामा उल्लेख्य रहेको आयोजक बोलबम समितिले जनाएको छ । हरेक वर्ष साउने सोमबार बोलबम कार्यक्रममा भक्तजनको सहभागिता बढदै गएपछि केदारेश्वर मन्दिर बोलबममय बन्न पुगेको छ । सोमबार भगवान शिवको नाममा ब्रस्त बसी शिवको पूजाआजा र शिवलिंगमा जल चढाउन सपरिवार पनि मन्दिर पुगेको देखिन्थ्यो । केटाकेटी, युवायुवती तथा उमेर ढल्केकाहरु पनि घण्टौ लाइन बसेर जल चढाउन पालो पर्खेका थिए ।
जल चढाउनका लागि मन्दिरका चारवटै द्वार खुला गरिएको छ । बिहान ३ बजेदेखि नै भक्तजन मन्दिर आएको मन्दिरका पुजारी इन्द्र पौडेलले जनाए । भक्तजनहरु कास्कीलगायत छिमेकी जिल्लाहरुबाट पनि केदारेश्वरमा आएका छन् । मन्दिर परिसरमा अहिले भजनकीर्तन पनि जारी छ ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको थियो ।
¥यालीका सहभागीहरुले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए । विभिन्न भजन मण्डलीहरुले भजनकीर्तन गाई भक्तजनहरुलाई नचाएका थिए । गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रासहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्ने ब्यवस्था मिलाइएको संयोजक शंकर खरालले जनाए ।
शुक्लागण्डकीबाट जल लिई भक्तजनहरु पैदलयात्रासहित ¥यालीमा निस्किएका थिए । भक्तजनहरुलाई एनबी व्यवसायी समितिले प्रसादको ब्यवस्था मिलाएको छ ।

कमेन्टहरु
Loading...