पोखरा, २६ साउन/समकालीन पुस्ताका चर्चित लेखक भूपिनले लेखकहरु सधैं पाठकहरुको कठघरामा
उभिनुपर्ने बताउनुभएको छ । आफ्नै पछिल्लो कृति ‘चौबीस रिल’
निबन्धसङ्ग्रहमाथि ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले शनिबार पोखरामा
गरेको परिचर्चा कार्यक्रममा लेखकका तर्फबाट बोल्दै उहाँले ‘वन मुद्दा’ लाग्ने
खालका कृति लेख्नुबाट लेखक बच्नुपर्नेमा जोड दिनुभयो ।
“कुनै पनि लेखक गल्तीसहित आफ्ना कृतिहरुमा आएको हुन्छ” भूपिनले
भन्नुभयो, “लेखकलाई प्रदान गरिने देवत्वबाट म पनि बच्ने प्रयास गरिरहन्छु ।”
क्षतिग्रस्त पृथ्वी र मूल सडक, शब्दहरुको नेपथ्य र हजार वर्षको निद्रा
कवितासङ्ग्रहका कवि भूपिनको पछिल्लो समयमा विभिन्न धारका २४ वटा निबन्ध
समेटिएको निबन्धसङ्ग्रह चौबीस रिल निकै चर्चामा रहेको छ ।
कृतिबारे अवधारणापत्र प्रस्तुत गर्दै युवा समालोचक तथा साहित्यकार सुरेश
रानाभाटले भूपिनलाई समकालीन पुस्ताका एक सचेत र हस्तक्षेपकारी लेखकका रुपमा
चिनाउनुभयो । “विषयगत विविधता, प्रस्तुतीगत बौद्धिकता र भाषागत कलात्मकता
भूपिनका विशेषता हुन्” रानाभाटले भन्नुभयो, “उनका निबन्धहरु देवकोटाको
निबन्धगत चुलीतिर उन्मुख छन् ।”
गुल्मीका साहित्यकार शशि पन्थीको स्रष्टा परिचय दिँदै गीताञ्जली साहित्य
परिवारका अध्यक्ष कृष्ण भण्डारी ‘मुमुक्षु’ले शशि पन्थी धेरै विधामा कृति
लेखेर पनि ओझेलमा परेको स्रष्टा भएको बताउँदै उनीजस्ता प्रतिभाको खोजी
हुनपर्ने बताउनुभयो ।
सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’को अध्यक्षतामा भएको कार्यक्रममा
प्रमुख आमन्त्रित व्यक्तित्व पुनरावेदन अदालत पोखराका न्यायाधिस तथा लेखक
डिल्लीराज आचार्यले लेखकहरु कोरा कल्पनामा मात्र नरमाई यथार्थमा आधारित
रचनामा केन्द्रीत हुनुपर्ने बताउँदै ¥याण्डमले पठन संस्कृतिको विकासका लागि
खेलेको भूमिकाको सराहाना गर्नुभयो । कार्यक्रममा साहित्यकार सरुभक्त तीर्थ
श्रेष्ठ, रमेश श्रेष्ठ, महेन्द्र रिमाल, युवराज सुवेदी, डिल्लीराज आचार्य, गीता
विष्टलगायतले शुभकामना तथा टिप्पणी गर्नुभएको थियो ।
सोसाइटीका उपाध्यक्ष नगेन्द्र भण्डारीले स्वागतसहित आगामी भदौ २९ गते गीता
त्रिपाठीको निबन्धसङ्ग्रह ‘एक्लो र उदास उस्तै’माथि पद्मकन्या कलेजकी
उपप्राध्यापक अनुपमा रेग्मीले परिचर्चा गर्नुहुने जानकारी दिनुभएको
कार्यक्रमको सञ्चालन सहसचिव उपेन्द्र पौडेल र परिचर्चाकारको परिचय राजेन्द्र
पौडेलले दिनुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै
पुस्तक वा विषयमाथिको परिचर्चासहित स्रष्टा परिचय पनि गर्दै आएको
प्रचारप्रसार संयोजक रुपिन्द्र प्रभावीले जनाउनुभयो ।
२०८२ कार्तिक २७ गते बुधबार
लेखक सधैं पाठकको कठघरामा उभिएको हुन्छः भूपिन
कमेन्टहरु