माओवादी लडाकू समायोजनमा २० अर्ब सकियो, अख्तियारद्धारा छानबिन

काठमाडौ, २६ साउन/माओवादी लडाकू समायोजन गरिसक्दासम्म राज्यकोषबाट झन्डै २० अर्ब रुपैयाँ खर्च भएको छ । शिविरमा राखेर नेपाली सेनामा समायोजन हुँदासम्म १९ अर्ब ७१ करोड ५२ लाख ६८ हजार ३ सय ९३ रुपैयाँ खर्च भएको आजको राजधानी दैनिकमा खबर छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जानकारी दिएको छ । शिविर व्यवस्थापन, शान्ति कोष र विशेष समितिको सचिवालयबाट सो रकम खर्च भएको हो ।
शिविर व्यवस्थापन कार्यालयबाट ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २ सय ९७ रुपैयाँ खर्च भएको छ ।यसैगरी, शान्ति कोषबाट लडाकूको भरणपोषणबाहेक १ अर्ब ५४ करोड ४८ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, विशेष समितिको सचिवालयबाट ८ अर्ब ३७ करोड ३५ लाख ७३ हजार ९६ रुपैयाँ खर्च भएको हो । माओवादी लडाकूको भरणपोषण, भत्ता र स्वैच्छिक अवकाशमा जाने लडाकूलाई बिदाइ गर्दा लागेको खर्चसहित १७ अर्ब २७ करोड ८ लाख ६१ हजार ८ सय ४ रुपैयाँ खर्च भएको शान्ति मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
५ मंसिर २०६३ को विस्तृत शान्ति सम्झौतापछि २० चैत २०६९ सम्ममा माओवादी लडाकूको व्यवस्थापनसम्बन्धी कार्यका लागि रकम खर्च भएको हो ।पूर्वाधार विकास, अन्य र नेता कृष्णबहादुर महराले लिएको पेस्की रकम गरी कुल १ अर्ब ५७ लाख ८० हजार ७ सय ८४ रुपैयाँ खर्च भएको छ । जसको बिलभर्पाई नै नरहेको पाइएको छ । लडाकूको रकममा ४ अर्ब अनियमितता नै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
 

कमेन्टहरु
Loading...