पोखरा, १४ जेठ/पदयात्रा पर्यटनमा युवाहरुको आक्रषण बढ्दै जादाँ तालिम लिनेको पनि सख्या ह्वातै बढेको छ । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्रा पर्यटनलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन आयोजना गरेको ५ हप्ते तालिममा ३ सय ५० युवायुवतीले भाग लिए ।
पदयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण निकै बढीरहेका अवस्थामा यसको व्यवसायिक विकासका लागि तालिम आवश्यक भएको महसुस गरी यसलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन तालिम आयोजना गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताए ।
“पदयात्रा क्षेत्रमा पर्यटकको संख्या बढाउन र यस तर्फ उनीहरूलाई आकर्षित गर्न मुख्य हात ट्रेकिङ गाइडको हुन्छ,” उहाँले भन्नुभयो, “एक महिने ट्रेकिङ गाईड तालिममा प्रदेश नं ४ का साथै देशका विभिन्न भागबाट सहभागी हुनेको संख्या तीन सय ५० जना छ ।” टान पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको २५ औं वर्ष पुगेका अवसरमा यस किसिमका तालिम एवम् क्षमता अभिबृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताए ।
पछिल्लो समयमा पदयात्रा पर्यटनको रुपमा युवायुवतीको आक्रषण बढेको तालिमका संयोजनक मिलन तिवारीले जानकारी दिए । उनले टानले अहिले सम्म १२ सय जनालाई तालिम दिइसकेको जानकारी दिए । यति धेरै जना एकै पटक तालिममा सहभागी भएको पहिलो पटक भएको बताए ।
तालिमको उद्घाटन प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पदयात्रा पर्यटनलाई अझै व्यवस्थित एवम् प्रभावकारी बनाउन तालिम उपयोगी बन्ने विश्वास व्यक्त गरे । पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्नसँगै सन् २०२२ मा नेपालमा २५ लाख पर्यटक भित्र्याउने सरकारको योजना सफल पार्न पर्यटन व्यवसायीको महत्वपूर्ण भूमिका हुनेमा उनले जोड दिए ।