प्रदेश ४ सरकारका सय दिनमा ४१ बुदे काम, प्रदेश सरकारलाई डमरु बनायो मुख्यमन्त्री

पोखरा, १४ जेठ/प्रदेश ४ सरकारले सयदिने कार्यप्रगति सार्वजनिक गरेको छ । फागुन ४ गते गठन भएको प्रदेश सरकारले ४१ बुँदे उपलब्धि हासिल गरेको आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद्ले स्वीकृती दिई प्रदेशसभाबाट पारित भएका र राजपत्रमा प्रकाशित भएका सातवटा ऐन, निर्माणको क्रममा रहेका १७ वटा विधेयकमध्ये १० वटालाई सैद्धान्तिक सहमति दिइएको, प्रदेश सरकारको कार्यसम्पादन नियमावली र कार्यविभाजन नियमावलीलाई सरकारको उपब्धि रहेको सरकारका प्रवक्ता रामशरण बस्नेतले सुनाए ।

यस्तै नीति तथा कार्यक्रम सार्वजनिक बजेट, विद्युतीइ सुशासन गुरुयोजना, पाँचवर्षे अवधारणापत्र तयार गर्ने काम, मन्त्रालय, निकाय र कार्यालयको संगठन संरचनाको प्रतिवेदन प्रस्ताबलाई पनि सरकारले उपलब्धिका रुपमा लिएको छ ।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारलाई डमरु जस्तो बनाएको बताएका छन् । ‘प्रदेश सरकारलाई डमरुजस्तो बनाइएको छ, एकापट्टि बजायो स्थानीय सरकार, अर्कोपट्टि बजायो संघिय सरकारमा ठोकिन्छ,’ उनले भने ‘यो संघीयतालाई असफल बनाउने प्रयत्न हो ।’ संघीय सरकार र स्थानीय सरकारलाई मात्र अधिकार केन्द्रिय हुँदा प्रदेश सरकार अन्योलमा परेको उनले बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सय दिनमा नीतिगत उपलब्धिहरु हासिल गरेको बताए । उनले नीतिगत संरचनाहर तयार भइसकेको उनको भनाई छ । उनले देखिने भन्दा नदेखिने काम भएको उल्लेख गरे । उनले कानुन निर्माणसँगै सरकारले पनि गति लिने उनको भनाई छ ।

 

कमेन्टहरु
Loading...