चुनाव र संविधानका विषयमा सहमति खोज्न काँग्रेस– माओवादी छलफल

नेपाली काँग्रेस र नेकपा–माओवादीका नेताहरुले दलहरुबीच जारी वार्तालाई फलदायी बनाउन गृहकार्य गरेर सहमति खोज्नेबारेमा छलफल सुरु गरेका छन्। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव नेत्रविक्रम चन्द तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलेबीच आज बिहान उपसभापति पौडेल निवास बोहोराटारमा भएको वार्तामा चुनाव, संविधान र राजनीतिक सङ्कट समाधानका बारेमा सहमति खोज्नेबारेमा छलफल भएको थियो।  छलफलमा माओवादीले हतारमा वार्ता सकाउने भन्दा पनि चुनाव र संविधानका विषयवस्तुमा गृहकार्य गरेर निर्णयमा पुग्न तथा सहमति खोज्न कांग्रेस नेतासँग आग्रह गरेको थियो। 

 कांग्रेसले भने समझदारी गरेर आगामी मङ्सिर ४ को निर्वाचन समयमै सम्पन्न गर्न आग्रह गरेको थियो। दुवै पक्षले दलबीच जारी वार्तालाई सहमतिमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए। छलफलपछि माओवादीका अध्यक्ष वैद्यले आफ्ना माग छलफलमा राखिएको बताउँदै यदि ती माग मान्न र कस्तो संविधान बनाउने भन्नेमा सामान्य रुपमा उहाँहरु तयार हुनुहुन्छ भने हामी संविधानसभाको चुनावमा नजाने भनेका छैनाँै भने।
“हाम्रा माग मान्न र संविधानका विषयवस्तुमा सामान्यरुपमा उहाँहरु तयार हुनुहुन्छ भने हामी चुनावमा जाने भनेका छौँ, उहाँहरुको कुरा के हो भने सहमति नभए पनि ठीकै छ, चुनावमा जाऔँ भन्ने ढङ्गले जान खोजेको देखियो,” वैद्यले भने। उनले अब सहमति कायम गरेर समस्या हल गरेर जाने र कस्तो संविधान बनाउने भन्नेमा सामान्य सहमति गरेर जाने हो भने आफूहरु चुनावमा जाने तर यथास्थितिमा भने जान नसक्ने दोहोर्‍याएको बताए।
दुवै पक्षका आआफ्ना अडान भए पनि वार्तालाई फलदायी बनाउन गृहकार्य गरेर सहमतिका लागि छलफल गरेर जाने र वार्तालाई हतारमा सक्नेभन्दा पनि छलफलबाटै अघि बढ्नेमा केन्द्रित रहेको अध्यक्ष वैद्यले बताए।
कांग्रेस उपसभापति पौडेलले सकेसम्म सबै सहमत भएर जाने ढङ्गले प्रयास गरौँ, हतारिएर निर्णयमा नपुगाँै भन्नेमा माओवादी पक्षले जोड दिएको बताउनुभयो। “हतारिएर भोलिपर्सि नै वार्ता सक्नेमा नजाऔँ भन्ने उहाँहरुको भनाइ छ, उहाँहरुले गृहकार्य गरी छलफल गरेर जाऔँ भन्नुभयो,” उपसभापति पौडेलले भने।
कांग्रेसले चुनावको विकल्प नभएको र देशलाई चुनावले मात्र समाधान दिने तथा यसैमा मुलुकको भलो हुन्छ भन्दै मङ्सिर ४ गतेको चुनाव मिलेर सम्पन्न गर्न माओवादीलाई आग्रह गरेको थियो। “उहाँहरु (माओवादी)ले सकेसम्म सहमति गरेर संविधान बनाउने वातावरण पनि बनाऔँ, सहमतिबाट चुनाव सम्पन्न गरी राजनीतिक दलहरुकै बीचबाट सरकार बनाउने कोसिस फेरि पनि गरौँ भन्ने भनाइ राख्नुभयो,” छलफलमा माओवादीले राखेको भनाइ उद्धृत गर्दै उपसभापति पौडेलले बताए।
 काँग्रेसले भने सहमति हुन नसकी प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर मङ्सिर ४ को चुनावको तयारी भइसकेकाले यसलाई पर सार्दा मुलुकको भलो हुँदैन भन्नेमा जोड दिएको थियो। “यताउता गर्न लागियो र फेरि नयाँ ढङ्गले केही कुरा सुरु गर्न लाग्यौँ भने चुनाव सर्न सक्छ, त्यो अवस्थामा मुलुकले अप्रिय अवस्थाबाट गुज्रने पर्ने स्थिति हुन्छ, त्यसकारण चुनाव समयमै गरौँ र समझदारी गरेर जाऔँ,” उपसभापति पौडेलले बताए।
कांग्रेसले माओवादीका केही माग अप्ठ्यारो भएको बताउँदै ती कठिन मागबाट सहमतिमा आउन सहज भइदिनुपर्नेमा जोड दिएको बताइएको छ। रासस

– See more at: http://setopati.com/raajneeti/3036/#sthash.O1gOYAxc.dpuf

कमेन्टहरु
Loading...