मोदी मुत्तिनाथ जादाँ मुक्तिनाथ दर्शन र थोराङ्ला पास गर्न सर्वसाधरणलाई रोक

मुस्ताङ, २५ वैशाख /भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाँदा पदयात्रीमाथि दुई दिनसम्म रोक लगाइने भएको छ ।

जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले मोदी वैशाख २८ मा मुक्तिनाथ दर्शन गर्न आउँदा त्यही दिन र भोलिपल्ट मनाङको थोरङ्गला पास हुँदै मुस्ताङ छिर्ने पदयात्री र मन्दिरमा सर्वसाधरणका लागि रोक लगाउने निर्णय सोमबार गरेको हो ।

मोदी २८ र २९ गते कुन दिन आउने भन्ने निधो नभए पछि दुई दिन रोकलाउनु परेको सुरक्षा समितिले जनाएको छ ।म्याग्दीको बेनी हुँदै जोमसोम रुटबाट आउने पर्यटकलाई पनि वैशाख २८ र २९ गते दुई दिन मुक्तिनाथ दर्शनमा रोक लगाइएको समितिले जनाएको छ ।

प्रशासनले काठमाडौँ र पोखराबाट हेलिकोप्टर चढेर जोमसोम हुँदै मुक्तिनाथ आउने पर्यटकलाई पनि वैशाख २८ र २९ गते दर्शनमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोमबार सूचना जारी गर्दै मोदीको भ्रमणलाई सुरक्षाको दृष्टिकोणले सुरक्षित र भरपर्दो बनाउन मनाङसँगको नाका बन्द गर्ने जनाएको हो ।

राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको मूख्य गन्तव्य थोराङ्ला पास हो । मनाङ र मुस्ताङबाट जान सकिने थोराङ्ला पासमा यतिबेला मनाङबाट आउने पर्यटक बढी हुन्छन् ।

मोदी नेपाल भ्रमणका लागि वैशाख २८ गते आउने कार्यक्रम छ । मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अति विशिष्ट कक्ष, १०८ धारा, हेलिप्याड निर्माण र शौचालयको सरसफाई गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएको छ । हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नेछन् । उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घासा र मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ ।

कमेन्टहरु
Loading...