पोखरा, २२ वैशाख/ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सहप्रायोजनमा आयोजित प्रतियोगिताको उदघाटन खेलमा पोखरा क्रिकेट क्लबलाई माछापुच्छ«े क्रिकेट क्लबले ५ रनले पराजित गरेको छ । पीच भिजेको अवस्थाले केही ढिलो गरी शुरु गरिएको खेल भने २० ओभरमा झारिएको थियो । राउण्ड रोविन अन्तर्गत ४० ओभरको प्रतिस्पर्धा गराईने छ ।
अमृत गुरुङको तीन छक्का र दुई चौका हान्दै ४७ रनको महत्वपूर्ण योगदानमा माछापुच्छ«े क्रिकेट क्लबले ओपनिङ व्याटिङ गर्दै ११९ रनको बनाई लक्ष्य पछ्याउने निम्तो दिएको थियो ।मनोज कोईरालाले २० बलमा २५ रन बनाई आउट हुदाँ अमृतले पाँचौ नम्बरमा गएर अर्धशतक पुरा गर्नबाट चुके । प्रविन ढकालको खातामा १९ रन लेखियो । विजय राउतले चार ओभरमा एक मेडन राख्दै १४ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । गोविन्द प्रधान, सुमन घिमिरेले एक एक विकेट लिएका थिए ।
१२० रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले लक्ष्य पुरा गर्ने अग्रसर रहँदा ८४ रनमा खेलिरहेको थियो । अचानक पानी परेपछि अम्पायरले डक वर्थ लुईस अनुसार पोखरा क्रिकेट क्लब ५ रनले पराजित भएको संकेत गर्दै क्रिजबाट बाहिरिए । पोखरा क्रिकेट क्लबका खेलाडीहरुका अनुसार पानीले पीच भिज्ने अवस्था नै नहुदाँ अम्पायरले डर्क वर्थ लुईस नियम अनुसार पराजित भएको घोषणा गरेका थिए । आईतबार सांग्रिला क्रिकेट क्लबले पोखरा क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशालाभित्रको क्रिकेट मैदान बनाउन मन्त्रालयले चालु आर्थिक वर्षको लागि एक करोड बजेट छुट्टाएको बताएका छन् । ‘आगामी वर्ष पेभिलियन सहितको पुर्वाधार बनाउन बजेट छुट्टाईने छ’ उनले पोखरामा शनिबारदेखि शुरु भएको ‘ओम डेभलपमेन्ट बैक के.सि.एल(कास्की क्रिकेट लिग) को उदघाटन गर्दै भने—‘क्रिकेट मैदानको लागि एक करोड बजेट छुट्टाएका छौं ।’
प्रतियोगिताको उदघाटन समारोहमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल, खेलकुद पत्रकार मन्चका अध्यक्ष केशव पाठक,महानगर वडा नं ३ का अध्यक्ष रविन्सन प्रजु, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ तथा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुदको विकास र क्रिकेटको पुर्वाधार निर्माणमा जोड दिएका थिए ।