अनेरास्ववियुका नेताहरुको उपचार सहयोगार्थ सांगितिक कार्यक्रम

अनेरास्ववियुका केन्द्रीय सदस्य नरेश रोकाया र पूर्व विद्यार्थी नेता अर्जुन कुमार सुनामको उपचार सहयोगार्थ राष्ट्रिय जनसाँस्कृतिक महासंघ कास्कीले शनिबार वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । उद्योग वाणिज्य संघको सभाकक्षमा हुने कार्यक्रमबाट प्राप्त हुने रकमबाट उनीहरुको उपचारमा सहयोग गरिने कार्यक्रम संयोजक महासंघका कन्द्रीय सचिवालय सदस्य मनकुमार श्रेष्ठले जानकारी गराए ।२०६५ माघ ८ गते पृथ्वी नारायण क्याम्पसमा भएको झडपमा पृथ्वी नारायण क्याम्पसका तत्कालिन उपसभापति अर्जुन कुमार सुनाम गम्भिर घाइते भएका थिए । उनको टाउको र ढाडमा अहिले पनि समस्या रहेको अनेरास्ववियुले जनाएको छ । ढाडको समस्याका कारण हिँडडुल गर्नमा समस्या रहेका उनले आर्थिक समस्याका कारण थप उपचार गराउन सकेका छैनन् ।
त्यसै गरी २०६६ पौष ४ मा पृथ्वी नारायण क्याम्पसको पुरुष छात्रवासमा अखिल फोर्सका तत्कालिन संयोजक नरेश रोकायामाथि सांघातिक हमला भएको थियो । सो आक्रमणपछि अहिले पनि उनको दुवै खुट्टामा समस्या छ । दुई वर्ष अगाडी नै खुट्टामा राखिएको स्टिल झिकिसक्नु पर्नेमा आर्थिक अभावका कारण हालसम्म पनि थप उपचार गर्न नसकिएको अनेरास्ववियु पश्चिमाञ्चल ब्युरो प्रमुख दिलिप न्यौपानेले बताए ।
उनीहरुको थप उपचार सहयोगका लागि शनिबार गरिने कार्यक्रममा पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, पदमराज ढकाल, माधव प्रधान, कृष्ण भण्डारी, जय कुमार परियार, नारायण बाँस्तोला, सिडि विजय अधिकारी, ऋतु लामा, ऋतु गुरुङ्ग, अमृत खाति लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती रहनेछ । त्यसै गरी सो कार्यक्रममा द रिदम व्याण्ड, हिमाली साँस्कृतिक परिवार, तरेली साँस्कृतिक परिवार र अनुशिलन संगित पाठशालाको पनि विशेष प्रस्तुती रहने जनाइएको छ । कार्यक्रममा राजा राजेन्द्र, राजेन्द्र नेपाली र युवराज भण्डारीले समेत आफ्नो हाँस्य प्रस्तुती राख्ने कार्यक्रममा प्रचार प्रसार संयोजक सुवास मल्लले जानकारी दिए ।

कमेन्टहरु
Loading...