स्वास्थ्यको अधिकार विषयमा स्थानीय सरोकार समितिसँग अन्तरक्रिया

पोखरा २४ साउन/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा स्थानीय सरोकार समितिसँग स्वास्थ्यको अधिकार विषयमा अन्तरक्रिया कार्यक्रम बुधबार सिद्ध गाविसमा सम्पन्न भयो ।
कार्यक्रममा सहभागीहरुले स्थानीय सिद्ध गाविस उपस्वास्थ्य चौकीमा कर्मचारीहरु नियमित उपस्थिति नभएको, स्वास्थ्यचौकी व्यवस्थापन समिति एक वर्षदेखि निस्कृय रहेको, साधनस्रोत र जनशक्तिको अभाव भएको गुनासो गरे ।
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीले जनताको घरदैलोमा आधारभूत स्वास्थ्य पु¥याउनको लागि काम विभिन्न स्वास्थ्य संस्थामार्फत् खोप, पोषण सेवा, झाडा पखाला तथा श्वासप्रश्वास उपचार सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, रोग नियन्त्रण सेवा उपलब्ध गराउदै आएको बताए । सरकारले स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्ने योजना रहेकोले स्वास्थ्य सेवा सहज बनाउन सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।
इन्सेक केन्द्रीय कार्यालयका जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम परियोजना संयोजक सुशील चौधरीले कार्यक्रममा सहभागीहरुले समस्याका बारेमा खुलेर छलफल गर्नु सराहनीय काम भएको भन्दै यसले जनताको माग दावी गर्ने क्षमता अभिवृद्धि हुने बताए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले स्थानीय समुदायका शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आम नागरिकले स्वास्थ्यको अधिकार उपयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका इकाई सभापति नेत्रबहादुर मल्ल, नेकपा एमालेका अध्यक्ष डिल्लीराज खनाल, मानवअधिकार निगरानी समुहका संयोजक अमृतबहादुर आचार्य, सिद्ध उपस्वास्थ्यचौकीका इन्चार्ज पार्वती अधिकारी, अनमी मञ्जु ढुङ्गाना, राजेन्द्र रेग्मी, रामचन्द्र केसी, गोपालशरण रेग्मी, मैया पराजुली, हिमालय पराजुली, खिमादेवी वास्तोला, मदन घिमिरे, श्रीबहादुर जिसी लगायतले बोलेका थिए ।
सिद्ध गाविसका अध्यक्ष मोहदत्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक पोखराका सहायक अधिकृत सवनम शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा स्थानीय समुदायका शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकका फोकल पर्सन गणेश श्रेष्ठलाई मानवअधिकार निगरानी समुह, गाविस, नागरिक समाजले फूलमाया, खादा र अविर लगाई विदाई गरे ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, वडा नागरिक मञ्च, महिला स्वयंसेविका, नागरिक समाज, अधिकारकर्मी गरी ५४ जनाको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...