त्रैमासिक परीक्षामै फेल भएपछि …

कक्षा ८ को प्रथम त्रैमासिक परीक्षामा फेल भएपछि सुनसरीमा एक बालिकाले आत्महत्या गरेकी छन् । इटहरी–५ की १३ वर्षीया बालिका प्रियंका कार्कीले झुन्डिएर अत्महत्या गरेकी हुन् । परीक्षामा फेल भएको मार्कसिट बोकेर घर आइपुगेकी प्रियंकाले मार्कसिटमै आत्महत्या गर्नुको कारण खुलाएकी आजको राजधानी दैनिकमा खबर छ ।

इटहरी–५ स्थित लिटल फ्लावर्स बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्दै आएकी बालिका कार्कीले विद्यालयले दिएको मार्कसिट कोठामै राखेर सोही मार्कसिटमा ‘आई एम सरी मम एन्ड फादर’ लेखी आत्महत्या गरेकी थिइन् । उनले आत्महत्या गर्न कोठामा भएको मुढालाई पलङमाथि राखेर घाँटीमा डोरी बाँधेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विद्यानन्द माझीले जानकारी दिए ।
परीक्षामा पाएको असफलता नै आत्महत्याको मुख्य कारण रहेको अनुसन्धानले देखाएको डीएसपी माझीको भनाइ छ । सोही विद्यालयमा आफैसँग पढ्ने भाइ उत्तीर्ण भएको तर आफूचाहिँ अनुत्तीर्ण भएपछि विद्यालयमा रहँदादेखि नै निकै चिन्तामा रहेकी थिइन् ।
प्रियंकाकी साथी प्रमुशा पराजुलीका अनुसार फेल भएपछि उनी सधै चिन्तामा डुब्ने गरेकी थिइन् । पढाइमा कमजोर रहेकी कार्कीले आत्महत्या गर्नकै लागि निकै भोक लागेको छ भनेर भाइलाई नजिकैको पसलमा चाउचाउ किन्न पठाएकी थिइन् । भाइ चाउचाउ किन्न गएलगत्तै ढोकामा चुकुल लगाएर विद्यालयकै पोसाकमा आत्महत्या गरेको प्रहरीले बताएको छ ।
बालिका कार्कीका बुबा डम्बरबहादुर कार्की भारतीय सेनामा कार्यरत छन् । उनी केही दिनअघि मात्रै छुट्टीमा घर आएका थिए । बाबु र आमा मेनुका छोराछोरीलाई विद्यालय पठाएर सामान खरिदका लागि भारतको जोगवनी गएका थिए । यसअघि इटहरी–४ मा बस्दै आएको कार्की परिवार केही महिनाअघि मात्र इटहरी–५ जनता बस्तीमा बसाइ सरेको हो । लिटल फ्लावर्स बोर्डिङमा पढ्नुअघि प्रियंका इटहरी–४ को पाथीभरा बोर्डिङ स्कुलमा पढ्दै आएकी थिइन् । त्यहाँ पढ्दा समेत कार्कीको पढाइ निकै कमजोर नै रहेको परिवारले जनाएको छ ।
‘पढाइ कमजोर भए पनि हामीहरूले कहिल्यै गाली गर्दैनथ्यौं, आज अचानक यस्तो काम गरिन्,’ पिता डम्बरले भने । घटनाको अनुसन्धान गरिरहेका प्रहरी नायब निरीक्षक (सई) गोविन्द खवासले परीक्षामा फेल भएकै कारण प्रियंकाले आत्महत्या गरेको तथ्य पाइएको बताए ।

– See more at: http://setopati.com/chapa-bata/2991/#sthash.lRO8ImPp.dpuf

कमेन्टहरु
Loading...