पोखरा, २२ चैत /प्रदेश ४ को नाम र राजधानी नाम र स्थान सिफारी गर्न संसदले गठन गर्न बनेको समितिको बुधबार बैठक बसेको छ । बैठकले नामाकंनका बारेमा जिल्ला तहमा सरोकारवाला सहितको बैठक र छलफल गर्ने निर्णय गरेको छ ।
चैत २८ गते पहिलो पटक कास्कीको जिल्ला समन्वय समितिमा छलफल गरेर बाँकी जिल्लामा छलफलको कार्यसूची तयार गर्ने समितिका सदस्य विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार कास्की बाहेकका १० जिल्लालाई ३ वटा क्लष्टरमा विभाजन गरेर प्रतिनिधी समेत तोकिएको छ ।
पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा समितिका सदस्यहरु दीपक कोइराला, सावित्रा राना, कृष्ण थापा र चन्द्रबहादुर बुढा छलफलमा जानेछन् । लमजुङ, गोरखा र मनाङमा सांसदहरु मधु अधिकारी, धनञ्जय दवाडी र हरिशरण आचार्य तथा नवलपुर, तनहूँ र स्याङजामा भगवत प्रकाश मल्ल, विन्दुकुमार थापा, मीनप्रसाद गुरुङ र सरिता गुरुङ लाई खटाउने निर्णय भएको थापाले जानकारी दिए । उनीहरुले छलफलमा उठेका नामबारे समितिमा एकीकृत गरेर छलफल गरी उपयुक्त नामहरु संसदसभामा प्रश्ताव गर्नेछन् ।
प्रदेशको राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समिति प्रश्नावली लिएर जिल्ला–जिल्लामा जाने भएको छ ।
जिल्ला समन्वय समिति कास्कीको सभाहलमा आउँदो बुधबार हुने सुझाव संकलन कार्यक्रममा सबै राजनीतिक दलका नेता, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसिएसन, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिसस प्रमुख तथा उपप्रमुख, आदिवासी जनजाति महासंघ, अन्तरपार्टी महिला सञ्जाल संयोजक, दलित उत्थान समिति, गैरसरकारी संस्था महासंघलगायत सहभागी हुनेछन् । यीनै संस्था अन्य जिल्लामा पनि सहभागी हुने निर्णय बैठकले गरेको छ ।
सामाजिक सञ्जाल पनि सुझाव संकलनका लागि प्रयोग गरिने छ । आधिकारिक वेबसाइट बनाएर भोट गर्न पाइने व्यवस्था मिलाउने थापाले बताए । सरकारले प्रदेश ४ को अस्थायी राजधानी कास्कीको पोखरा तोकेको छ । स्थायी राजधानी पनि पोखरा नै हुने निश्चित छ । तर प्रदेशको नाममा बिभिन्न प्रस्तावहरु आइरहेका छन् । गण्डकी, गण्डक, तमुवान–मगरात, अन्नपूर्ण, मुक्तिनाथ, गोरखा, कस्यप, व्यास, धौलागिरी, माछापुच्छे लगायत थुप्रै नाममाथि जनस्तरमै अहिले चर्चा र बहस भइरहेका छन् ।