पोखरा, १४ चैत /नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण के.सी. पोखरामा सम्मानित भएका छन् । पोखरा पिस क्लवले मंगलबार सम्मान गरेको हो । नामिवियामा सम्पन्न खेलमा जादुयी खेल प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनोट प्रतियोगितामा पु¥याएर नेपाललाई एकदिवसीय मान्यता प्रदान गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र बरालले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने क्लवका अध्यक्ष सुजन बरालले नगद १० हजार प्रदान गरेका थिए । सम्मान कार्यक्रममा बरालले खेल जगतबाट नेपाल र नेपालीलाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेकामा सम्मानित व्यक्तित्व करण केसीलाई बधाई सहित उज्वल भविष्यको कामना गर्दै खेल क्षेत्रको विकासमा आफ्नो पनि योगदान रहने बताए ।
क्लवका पूर्व अध्यक्ष तथा क्रिकेट अम्पाएर भोजराज बरालले क्रिकेटको विकासमा एकदशकभन्दा बढी समय खर्चिएको पोखरा पिस क्लवले संचालन गर्दे प्रतियोगितामा सहभागिता जनाएका करण केसी र रोहित कुमार पौडेलले राष्ट्रिय टिममा खेलेको महत्वपूर्ण भूमिकाले आज क्लवको पनि प्रतिष्ठा बढेकोमा खुसी व्यक्त गर्दै सम्मानित व्यक्ति करण र नेपाली राष्ट्रिय टिमको भविष्य उज्वल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
आफूलाई क्लवले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै करणले देशको नाम राख्न सफल भएकोमा गर्व लागेको र आगामी दिनमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै अगाडि बढ्ने बाचा व्यक्त गरे । क्लवका अध्यक्ष सुजन बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका सल्लाहकार भोजराज बरालले स्वागत र सचिव प्रताप आचार्यले कार्यक्रमको संचालन गरेका थिए ।