दिल्लीमा कोइरालालाई पछ्याउँदै राष्ट्रपतिका सल्लाहकार

२३ साउन, काठमाडौं । भारत भ्रमणमा रहनुभएका कांग्रेस सभापति सुशील कोइरालालाई पछ्याउँदै राष्ट्रपति डा. रामवरण यादवका राजनीतिक सल्लाहकार हरि शर्मा पनि दिल्ली पुग्नुभएको छ । मंगलबार साँझ दिल्लीस्थित नेपाली दूताबासले आयोजना गरेको भोजमा सल्लाहकार शर्मासमेत देखिनुभएको थियो । कोइरालाको भ्रमण टोलीमा सहभागी नभए पनि कांग्रेसका पूर्वअन्तरिम सांसद अमरेशकुमार सिंह पनि दिल्ली पुग्नुभएको छ । सिंहलाई सुशील कोइरालासँग भेट गर्न दिइएको छैन ।
कांग्रेस नेताहरुको भ्रमणका क्रममा आफूले पनि भूमिका खेलेको सन्देश दिन सिंह र शर्मा दिल्ली पुगेको बताइएको छ । यद्यपि उहाँले आफू व्यक्तिगत कामले दिल्ली आएको दूतावासमा आयोजित कार्यक्रममा बताउनुभएको छ । तर, सुशील कोइरालासँग सम्बन्ध राम्रो नभएका कारण अमरेश सिंह भने राजदूतावासले आयोजना गरेको भोजमा समेत देखिनुभएन । त्यसैगरी जुत्ता चप्पल केही नलगाई हिँड्ने कांग्रेस नेता शंकर पाण्डे पनि दिल्लीमा देखापर्नुभएको छ ।
भारतीय आतिथ्यमा कांग्रेस नेता मख्ख
दिल्लीबाट प्राप्त जानकारीअनुसार भारत भ्रमणमा रहनुभएका कांग्रेस सभापति कोइराला अत्यन्तै खुशी देखिनुभएको छ । आफ्नो भ्रमणलाई भारतीय अधिकारीहरुले उच्च महत्व दिएकाले कोइराला खुशी हुनुभएको हो । त्यसैगरी महामन्त्री प्रकाशमान सिंहलाई भारतीयहरुले ‘गणेशमान सिंहका छोरा’ भन्दै पटक-पटक प्रशंसा गरेपछि उहाँ पनि प्रशन्न भएको दूतावासको पार्टीमा सहभागी एक नेपालीले अनलाइनखबरलाई जानकारी दिएका छन् । साथै करन सिंहले समेत अलग्गै पार्टी दिएपछि कांग्रेसका नेताहरु थप उत्साहित बनेका हुन् । आइतबार चार सदस्यीय टोलीका साथ भारत भ्रमणमा जानुभएका कोइराला शुक्रबार नेपाल र्फकने कार्यक्रम छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...