सुशीलले दिए सोनिया गान्धीलाई नेपाल भ्रमणको निम्तो

२२ साउन, नयाँ दिल्ली । भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सत्तारुढ काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ । मंगलवार भएको भेटवार्ताको क्रममा कोइरालाले भारतको सबैभन्दा घनिष्ठ छिमेकी नेपालको भ्रमण अहिलेसम्म नगरेको भन्दै गान्धीलाई नेपाल भ्रमणमा आउन निम्तो दिनु भएको हो ।
जवाफमा गान्धीले आफू नेपाल भ्रमणमा आउन लालायित भएको भन्दै नेपालमा संविधानसभाको निर्वाचन भएर संविधान बनेपछि आफू नेपाल भ्रमणमा आउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कोइरालाले नेपालका राजनीतिक दलहरुवीच सहमति र सहकार्यको वातावरण बन्दै गएकोले आमसहमतिमा आगामि मंसिर ४ गते संविधानसभाको निर्वाचन हुने भन्दै गान्धीलाई आश्वस्त पार्ने प्रयत्न गर्नु भएको थियो । उहाँले नेपालको निर्वाचनको लागि भारतीय सहयोग र सदभाव आवश्यक रहेको भन्दै त्यसकोलागि समेत अपिल गर्नु भएको थियो ।
कोइरालाले भारतीय स्वतन्त्रता संग्रामदेखि नै नेपाली काँग्रेस र भारतीय काँग्रेस आईवीच सुमधुर सम्बन्ध रहँदै आएको भन्दै त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले नेपाली काँग्रेस र काँग्रेस आईका संस्थापक नेताहरुवीचको सम्बन्ध पनि स्मरण गराउनु भएको थियो । गान्धीले नेपालको राजनीतिक गतिरोधको अन्त्य र लोकतन्त्रको संस्थागत विकासकोलागि निर्वाचन अपरिहार्य भएको भन्दै जसरी पनि मंसिर ४ मा घोषित निर्वाचन हुनु पर्ने धारणा राख्नु भएको थियो । भारत शान्त, स्थायित्व भएको समृद्ध नेपालको पक्षमा रहेको भन्दै उहाँले त्यसकोलागि सबै खाले सहयोग गर्न तयार रहेको स्पष्ट समेत पार्नु भयो । कोइरालाले मंगलवार नै भारतीय जनता पार्टीकी संसदीय दलकी नेतृ शुष्मा स्वराजसँग पनि भेटवार्ता गर्नु भएको थियो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...