मृत्युसँग जुध्दैछन् स्वामी प्रपन्नाचार्य (तस्वीरसहित)

२२ साउन, काठमाडौं । आज विश्व आदिवासी दिवस । आदिवासी जनजातिहरुले राजधानीमा भव्य कार्यक्रम गरेर विश्व आदिवासी दिवस मनाइरहेका छन् । तर, नेपालका एकजना आदिवासी जनजाति मूलका प्रखर विद्वान एवं इतिहासविद् स्वामी प्रपन्नाचार्यलाई भने कसैले पनि वास्ता गरेका छैनन् । ९४ वर्षीय प्रपन्नाचार्यलाई पशुपति क्षेत्रको मृगस्थलीमा सिलिन्डरबाट अक्सिजन दिनुका साथै मुत्रनलीमा पाइप लगाएर राखिएको छ ।
1
इलाममा ९४ वर्षअघि जन्मिनुभएका प्रपन्नाचार्यको वाल्यकालको नाम काले राई हो । ३० वर्षको भएपछि क ख पढ्न थाल्नुभएका उहाँले बनारसमा विद्यावारिधि गर्नुभएको हो । पूर्वराजसभा स्थायी समितिको सदस्यसमेत रहनुभएका राईले किरात इतिहासलगायत धेरै पुस्तकहरु लेख्नुभएको छ । उहाँले किरात र आर्यहरु एकै वंशका सन्तान हुन् भन्ने विचार अगाडि सारेपछि आदिवासी जनजाति आन्दोलनका पक्षपातीहरुले उहाँको आलोचना गर्दै आएका छन् । साथै उहाँ हिन्दूराष्ट्र नेपालको पक्षधर मानिनुहुन्छ । किराँतहरू पनि हिन्दु नै हुन भन्ने प्रपन्नाचार्यको निष्कर्ष छ ।
2
प्रपन्नाचार्यको उपचारमा राज्यले कुनै वास्ता नगरेका कारण उहाँको अवस्था जटिल बन्दै गएको सहयोगीहरुले बताए । अरुले त वास्ता गरेनन् गरेनन्, पूर्वराजा ज्ञानेन्द्र एवं हिन्दूराष्ट्रका पक्षपाती कमल थापाहरुले पनि यतिबेला यी वृद्धको स्वाथ्य अवस्थाबारे चासो राखेका छैनन् । ‘म विरामी परेको धेरै भयो, कसैले वास्ता गरेनन् ।’- जीवनभर अविवाहित र एक्लो रहनुभएका प्रपन्नाचार्यले भन्नुभयो ।
3
नेपाली कांग्रेसका नेता आनन्दसन्तोषी राईले विश्व आदिवासी दिवसका दिन विहान प्रपन्नाचार्यसँग भेट गर्नुभयो । ‘मलाई आर्शिवाद र उपदेश दिनुपर्यो ‘- कांग्रेस नेता राईले यस्तो आग्रह गर्दा प्रपन्नाचार्यले भन्नुभयो, ‘जतिखेर बोल्न सक्थें, त्यतिखेर तिमीलाई उपदेश चाहिएन, अहिले बोल्नै सक्दिँन, के उपदेश दिनु ? तैपनि सफल हुने हैन, असल हुने काम गर्नू ।’ cp. onlinekhabar.com

कमेन्टहरु
Loading...