आज मिनी गोलमेच सम्मेलन हुने

२२ साउन, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियाको विरोधमा रहेका राजनीतिक दलहरुसँग  मङ्गलबार वार्ता गर्ने भएको छ । चार राजनीतिक दलले सबै असन्तुष्ट दलहरुसँग छुट्टा-छुट्टै वार्ता गरिसकेपछि मंगलबार मिनी गोलमेच सम्मेलनका रुपमा संयुक्त बैठकको आयोजना गर्ने भएका छन् ।
‘मंसिर ४ मै चुनाव सम्पन्न गर्न सात दिनभित्र सहमति गरिसक्ने उच्चस्तरीय राजनीतिक समितिले निर्णय गरेको छ, सोहीअनुरुप सके मंगलबार नै, नभए बुधबारसम्म असन्तुष्ट दललाई सहमतिमा ल्याउने प्रयास गरिनेछ ।’- एमाओवादीका एक वरिष्ठ नेताले अनलाइनखबरसँग भने । समितिको कार्यालय बानेश्वरमा सोमबार बसेको बैठकले नेकपा-माओवादी र उसको नेतृत्वमा रहेको ३३ दलीय मोर्चा, सङ्घीय समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम नेपालसँग भोलि मङ्गलबार छुट्टाछुट्टै वार्ता गर्ने निर्णय गरेको राससले जनाएको छ ।
एमाओवादीका नेता नारायणकाजी श्रेष्ठका अनुसार विहान ११ बजे मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चासँग वार्ता हुनेछ । १२ बजे अशोक राईले नेतृत्व गर्नुभएको सङ्घीय समाजवादी पार्टीसँग तथा दउँसो एक बजे नेकपा-माओवादी नेतृत्वको मोर्चासँग वार्ता हुनेछ । “आगामी मङ्सिर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न गराउन राजनीतिक वातावरण निर्माण गर्न समितिले अत्यन्तै गम्भीरताका साथ वार्ता गर्ने निर्णय गरेको छ”- नेता श्रेष्ठले भन्नुभयो ।
राजनीतिक रुपमा निर्वाचनको वातावरणको बनाउन सबै पक्षसँग वार्ता र संवाद गर्ने ध्येयका साथ समितिले वार्ता गर्न लागेको नेकपा एमालेका नेता रघुजी पन्तले जानकारी दिनुभयो । “निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर समितिले वार्ता गर्न लागेको छ, वार्ताबाट समस्याको समाधान हुन्छ भन्ने विश्वास लिएका छौं”- नेता पन्तले भन्नुभयो ।
नेपाली काँग्रेसका नेता डा रामशरण महतले मंगलबारको वार्ताबाट असन्तुष्ट दलहरु सहमतिमा आउँछन् वा आउँदैनन् भन्ने कुराको ठेगान लाग्छ भन्नुभयो । “प्रमुख दलहरुबीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ सम्बन्धमा तलमाथि गर्न सकिँदैन, अरु विषयमा हामी खुल्ला रुपमा संवाद गर्न तयार छौं ।”- नेता महतले भन्नुभयो । cp.onlinekhabar.com

कमेन्टहरु
Loading...