पहिरोले जताततै सडक अवरुद्ध

प्युठान – लगातारको वर्षाले जिल्लाको रम्दी गाविसस्थित चेरनेटा नजिकै गएराति पहिरो जाँदा भालुवाङ–प्युठान सडक खण्ड अवरुद्ध भएको छ। सडक अवरुद्धले बिहानैदेखि जिल्ला भित्रने र बाहिरने दिवा सेवाका लामो दुरीका यात्रुहरु अलपत्र परेका छन्।
अवरुद्ध सडक खुलाउन पहल भइरहेको निमित्त प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताए। यस्तै सोही सडक खण्डको देविस्थान र बड्डाँडाबीचको खहरे खोलामा पहिरो जाँदा सो ठाउँमा पनि यातायात अवरुद्ध छ। यातायात अवरुद्धले बिहानै काठमाडौं र नेपालगञ्जका लागि छुटेको यात्रुहरु अलपत्र परेका छन्।
यसैबीच गएराति नै रोल्पाको खुंग्रीमा पहिरो जाँदा रोल्पा–प्युठान सडकखण्ड अवरुद्ध भएको छ। यातायात अवरुद्धले बिहानैदेखि रोल्पाबाट जिल्ला बाहिर छुट्ने तथा जिल्ला भित्रिने यात्रुहरु पनि अलपत्र परेका छन्।
खुंग्री–३ स्थित धारपानीमा सडक माथिबाट आएको पहिरोले यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पहिरोका कारण सडक अवरुद्धले निश्चित समय लिएर गन्तव्यमा हिँडेका यात्रुहरु समस्यामा परेका छन्।
यसअघि सोही ठाउँमा आएको पहिरो आइतबार दिउँसो सडक डिभिजन कार्यालय प्युठानबाट डोजर लगेर अवरुद्ध सडक खुलाएपनि गएराति पुनः पहिरो गएको रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ओमबहादुर रानाले बताए। आज पनि हिजो जस्तै सडक अवरुद्ध भएको र यातायात सुचारु गर्न सडक डिभिजनमा खबर भइसकेको उनले बताएका छन्।

– See more at: http://www.nagariknews.com/main-story/story/5316#sthash.isj6gOqe.dpuf

कमेन्टहरु
Loading...