सडक विस्तारले उपत्यकामा ८० प्रतिशत जाम हट्यो

२१ साउन, काठमाण्डौं । सडक विस्तारसँगै उपत्यकाका विभिन्न स्थानमा हुने पट्यारलाग्दा सवारी जाम उल्लेख्य मात्रामा कम हुँदै गएका छन् । पुर्ननिर्माण सम्पन्न भइसकेका विस्तारित सडकखण्डहरुमा ८० प्रतिशतभन्दा बढी सवारी जाम हटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको निष्कर्ष छ ।
सडक विस्तारले आधा घन्टासम्म गुड्ने पालो कुर्नुपर्ने चोकहरुमा अहिले बढीमा पाँच मिनेट मात्रै कुरे पुग्ने अवस्थामा पुगेको महाशाका एसपी जगतमान श्रेष्ठले जानकारी दिए । ‘बिहान बेलुकाको पिकआवरमा आधा घन्टा ४० मिनेटसम्म सवारी जाम हुने चोकहरुमा अहिले बढीमा पाँच मिनेटमात्र हुने गरेका छन्,’ श्रेष्ठले भने, ‘पाँच मिनेट पनि कुनै कुनै बेला मात्रै हो, नभए रातो बत्ती बलुन्जेल मात्रै कुरे पुग्ने भएको छ,’ नयाँ पत्रिका दैनिकमा खबरछ ।
सडक विस्तारका कारण सानेपालगायतका क्षेत्रमा पनि सवारी जाम हलुका भएपनि बिजुलीका पोल, टेलिफोनका तार, ढललगायतको व्यवस्थापन नुहँदा सडक करिब ५० प्रतिशत मात्रै उपयोग भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विस्तारित सडक पूर्ण रुपमा पुर्ननिर्माण नुहँदा, सडकको दुवै तर्फ पार्किङ गरिने, सडकमा मार्किङ नगरिएको, रोड साइन नराखिएको कारण विस्तारित सडकहरु पुरै उपयोगमा ल्याउन नसकिएको एसपी जगतमान श्रेष्ठले बताए । उनले भने ‘सडक विस्तारले सहज त बनाएको छ, तर पूर्ण उपयोगमा ल्याउन धेरै अवरोध छन् ।’ cp. onlinekhabar.com

कमेन्टहरु
Loading...