राजनीतिक समितिले बैद्य माओवादीलाई अर्को पत्र पठाउने

१९ साउन, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादीसहितका दलहरुलाई निशर्त वार्तामा आउन पुनः पत्र पठाउने भएको छ । माओवादी नेतृत्वको २५ दलीय मोर्चाले अघिल्लो पत्रमा रहेको ‘दोस्रो संविधानसभा निर्वाचनका लागि’ भन्ने शब्दलाई शर्तका रुपमा व्याख्या गरेपछि राजनीतिक समितिले निर्वाचन भन्ने शब्द नै हटाएर अर्को पत्र पठाउने निर्णय गरेको हो । बानेश्वरस्थित समितिको सचिवालयमा शनिबार बसेको राजनीतिक समितिको बैठकपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरसँग भन्नुभयो-’बैद्यजीहरुलाई उहाँहरुले भनेकै भाषामा पत्र पठाउने निर्णय भएको छ ।
बैद्य माओवादीलाई राजनीतिक समितिको यो तेस्रो पत्र हुनेछ । यसअघि राजनीतिक समितिले २ बटा पत्र पठाइसकेको छ । वार्ताका लागि आहृवान गर्दै अब पठाइने पत्रमा ‘राजनीतिक समस्या समाधानका लागि’ भन्ने पदावली राखिनेछ ।
२५ दलीय मोर्चाले हालै राजनीतिक समितिलाई पठाएको जवाफी पत्रमा ‘दोस्रो संविधानसभा निर्वाचनका लागि’ भनेर सर्त राखिएको तथा ३३ दलीय भनेर चर्चामा आएको भनेर सामान्य शिष्टाचार समेत पालना नगरेको भन्दै आपत्ति जनाएको थियो ।
बैठकमा असन्तुष्ट दलहरुलाई चुनावी प्रक्रियामा सहभागी गराउन भएको छुट्टा छुट्टै छलफलको समिक्षा भएको थियो । वार्ता प्रक्रिया सकारात्मक भएको भन्दै राजनीतिक समितिलाई यसलाई निरन्तरता दिने निर्णय गरेको एमाओवादी नेता प्रकाशले जानकारी दिनुभयो । उपेन्द्र मोर्चासँग कांग्रेस र एमाले नेताहरु तथा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एमाओवादी नेताहरुले छलफल गरेका थिए ।
नेताहरुका अनुसार संविधानसभाको आकार, समकानुपातिको अनुपातबारे सोमबारको बैठकमा छलफल हुनेछ । कांग्रेस सभापति सुशील कोइरालाको आइतबारबाट सुरु हुने भारत भ्रमणले छलफल नरोकिने बताइएको छ ।
चुनाव सार्न र सरकार फेर्न बैद्यको माग
यसैबीच माओवादी अध्यक्ष मोहन बैद्य किरणले मंसिर ४ का लागि तोकिएको निर्वाचन स्थगित गर्न र दलीय सरकार बनाउनु पर्ने माग दोहोर्‍याउनु भएको छ । कांग्रेस सभापति सुशील कोइरालालाई भेटेर बैद्यले मंसिर ४ का लागि तोकिएको निर्वाचन स्थगित गर्न र वर्तमान सरकारलाई हटाएर दलीय सरकार बनाए आफ्नो पार्टी चुनावमा सहभागी हुने बताउनु भयो । बैद्यले भन्नुभयो-’नयाँ आधारमा नयाँ सहमति कायम गरौं । यदि हाम्रा माग पूरा गरिने हो भने, मंसिर ४ को चुनाव सार्ने हो भने, नयाँ सरकार बनाउने हो भने हामी चुनावमा आउँछौं ।’
कोइरालाले भने बैद्यको प्रस्ताव अस्वीकार गर्नु भएको छ । मंसिर ४ का लागि तोकिएको निर्वाचनमा सहभागी हुन कोइरालाले आग्रह गर्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...