लेकसिटी कलेजका विद्यार्थीलाई ‘डिजिटल मेकिङ स्टोरि’ सम्बन्धि प्रशिक्षण

पोखरा, साउन १६/पत्रकारिता तथा आमसंचार विषयमा स्नातकतहसम्म पढाई हुने गैहपाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थीका लागि विहीबारदेखि ‘डिजिटल मेकिङ स्टोरि’ सम्बन्धि प्रशिक्षण दिईने भएको छ । कक्षा १२ र स्नातकतहका विद्यार्थीका लागि दिन लागिएको प्रशिक्षण पाँचदिनको हुनेछ । लेकसिटि कलेज एण्ड रिसर्च सेन्टर, टिभि जर्नालिस्ट एशोसिएसन नेपाल र जापानको लाईफ लङ लर्निङ एण्ड करिअर स्टडिज होसेई विश्वविद्यालयको संयुक्त आयोजनामा प्रशिक्षण दिन लागिएको हो ।प्रशिक्षणमा १५ जना विद्यार्थी सहभागि हुनेछन् । यो प्रशिक्षणबाट पत्रकारिताका विद्यार्थीले ‘मल्टिमिडिया जर्नालिजम’ बारे सिक्ने अवसर पाउने प्रशिक्षक रजनिश भण्डारीले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा सहभागि सबै विद्यार्थीलाई आईप्याडबाट समाचार संयोजन र सम्प्रेषण गर्ने विषयमा मुख्य रुपमा प्रशिक्षण दिईनेछ ।
‘आईप्याडबाट कसरी समाचार संयोजन गर्ने भन्ने विषय नै मुख्य हो’ भण्डारीले भने, ‘यसले विद्यार्थीलाई भविष्यमा थप प्रविधिउन्मुख बनाउनेछ ।’ जापानी विश्वविद्यालयका प्रोफेसर जुन साकोमोतो र नेपाली प्रशिक्षकद्वय रजनिश भण्डारी र हिमाल न्यौपानेले विद्यार्थीलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान दिलाउनेछन् ।
लेकसिटी कलेजका सहायक क्याम्पस प्रमुख देवबहादुर क्षेत्रीका अनुसार प्रशिक्षणले पत्रकारिता विषय अध्ययनरत विद्यार्थीलाई नौलो अनुभव दिलाउनेछ । ‘विद्यार्थीलाई किताबि ज्ञानको साथै प्रयोगात्मक तरिकाले सिकाउँदा बढि प्रभावकारी हुने देखेर यस्तो प्रशिक्षण दिलाउन लागेका हौ’ उनले भने, ‘आगामी वर्षमा पनि यस्ता प्रशिक्षण विद्यार्थीलाई दिलाउनेछौ ।’ कलेजले पछिल्लो समय पत्रकारिताका विद्यार्थीका लागि फरक फरक तरिकाले प्रयोगात्मक अभ्यास गराँउदै आएको छ । क्षेत्रीले यो प्रशिक्षणले विद्यार्थीलाई अभिरुची जगाउने बताए ।

कमेन्टहरु
Loading...