सागर राज तिमिल्सिना
पोखरा, १३ साउन/पोखराको लेकसाईड स्थित फेवा किनारमा रहेको रत्नमन्दिरमा पाचँ तारे होटल बनाउने सरकारी तयारीको बिरुद्ध पोखरेलीले सामुहिक प्रतिबाद गर्ने भएका छन् । एतिहासिक पर्यटकिय धरोहरको अस्तित्व मेटिने गरी ब्यबशायिक प्रयोजनमा लगाउन लागिएको भन्दै पोखरेलीहरुले सामुहिक रुपमा यसको बिरुद्धमा उत्रने निर्णय गरेका हुन् ।
पूर्बराजा बिरेन्द्रको नाममा रहेको सम्पत्ती सरकारी करणपछि नेपाल ट्रष्टको माताहातमा रहेकोमा सरकारी स्तरबाटै पाचतारे होटल संचालनको प्रक्रिया थालिएको भन्दै पुरातात्विक , ऐतिहासिक पर्यटकिय महत्वलाई नमेटाउन आग्रह गरेका हुन् । सो स्थानमा जैबिक बिबिधता अनुसन्धान केन्द्र स्थापनाको पक्षमा आवाज उठाउदै आएका पोखरेलीले होटल संचालनले राष्ट्रिय सम्पदाको बिनास संगै फेवाताल समेत अतिक्रमण हुने निश्कर्ष निकालेका छन् ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिको नेपालको अगुवाईमा संयुक्त रुपमा सरकारी निर्णयको बिरोधमा उत्रने पोखरेलीको तयारी छ । समिति संगै पोखरा उद्योग बाणिज्य संघ र पोखरा पर्यटन परिषद्को आयोजनामा आज भएको रत्नमन्दिर सम्बन्धि छलफल कार्यक्रममा उपस्थित सम्पूर्णले एतिहासिक सम्पदाको रुपमा रहेको रत्नमन्दिरको अस्तित्व जोगाउन जस्तोसुकै दवाब मुलक कार्यक्रम गर्न तयार रहेको बताएका थिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य बहादुर भुजेलले पोखरामा लगानी भित्र्याउने सम्बन्धमा पर्यटन ब्यबशायी सकारात्मक रहेपनि फेवातालको मापदण्ड भित्र परेको रत्नमन्दिरमा होटल खोल्ने बिषयमा सहमत हुन नसकिने बताए । २०६८ फागुन १४ गते सरकारले गठन गरेको फेवाताल अचिक्रमण जग्गा छानबिन उच्चस्तरिय समितिको प्रतिबेदनले समेत रत्नमन्दिरको मर्मत संभार बाहेक नया संरचना बनाउन नमिल्ने प्रतिबेदन पेश गरेको थियो ।
प्रतिबेदनमा भनिएको छ – रत्नमन्दिर र हिमागृह ऐतिहासिक महत्वका सम्पदा भई नेपाल ट्रष्टमा आईसकेको हुदा तोकिएको मापदण्ड भित्र पर्ने भएतापनि त्यसभित्रका मौजुदा भबनहरु सुरक्षित राखी पर्यटकहरुको दृष्याबलोकनका लागि खुल्ला गर्नुको साथै मौजुदा भबनहरुको मर्मत सम्भार गर्ने बाहेक नया संरचना निर्माण गर्न पाइने छैन । समितिले पेश गरेको यो प्रतिबेदन मन्त्रीपरिषद् बैठकबाट समेत पारित भैसकेको छ । रत्नमन्दिरको कुल क्षेत्रफल एक सय ११ रोपनीमा फलिएको छ ।
