१३ साउन, काठमाण्डौं । नेपाली काँग्रेसले सात दशकपछि पार्टी संरचना परिवर्तन गरी ‘काडरबेस्ड’ (पूर्णकालीन कार्यकर्तामा आधारित) मा रुपान्तर गर्ने तयारी गरेको छ । पार्टीले मंसिर ४ गते हुने संविधानसभा चुनावसम्म पहिलो चरणमा सबै निर्माचन क्षेत्रमा ‘पूर्णकालीन’ कार्यकर्ता परिचालनको तयारी गरेको हो ।
संविधानसभा निर्वाचन केन्द्रमा राख्दै काँग्रेसले सबै जिल्लाबाट दुईदुईजनासहित झन्डै तीनसयलाई शनिबारदेखि प्रशिक्षक प्रशिक्षण दिन थालेको छ । तीनदिने प्रशिक्षण लिएकाहरु प्रत्येक निर्वाचन क्षेत्रमा तीन जनाको समूहमा खटिनेछन् । पार्टी उपसभापति रामचन्द्र पौडेल संयोजक रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम आयोजना गरी ‘पूर्णकालीन’ कार्यकर्ताका रुपमा तालिम दिन थालेको हो ।
प्रतिष्ठानका संयोजक पौडेलले भने, ‘तीनतीनजना प्रशिक्षकले प्रत्येक निर्वाचन क्षेत्रका प्रत्येक बुथ कमिटीमा पुगेर सिद्धान्त, अन्य पार्टी र काँग्रेसबीच परकलगायतका विषयमा प्रशिक्षण दिई चुनावसम्म पूर्ण रुपमा काम गर्नेछन् ।’
अघिल्लो संविधानसभा निर्वाचनमा दशक लामो द्वन्द्वबाट आएको माओवादीले प्रत्यक्षतर्फ काँग्रेसभन्दा दुईगुणा बढी निर्वाचन क्षेत्रमा जितेपछि यसपटक काँग्रेसले नयाँ रणनीति अवलम्बन गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । cp. onlinekhabar.com
