स्थानीय श्रृङ्गद्वारा पत्रकार महासंघलाई सहयोग

पोखरा, १३ साउन/स्थानीय श्रृङ्ग यातायात व्यवसायी समितिले नेपाल पत्रकार महासंघ, कास्की शाखाको भवन निर्माणार्थ १० हजार रुपैया सहयोग गरेको छ । समितिद्वारा मजदुर प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा उक्त रकम प्रदान गरिएको हो । कार्यक्रममा समितिका अध्यक्ष केदार पौडेलले पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रि विनोद ‘प्रतीक’ लाई उक्त रकम हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रतीकले पत्रकार महासंघ, कास्की शाखाको भवन निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँ भवन निर्माण सम्पन्न गरी निकट भविष्यमै उद्घाटन गरिने बताउनुभयो । अध्यक्ष प्रतीकले सहयोग गरेकोमा स्थानीय श्रृङ्ग यातायात व्यवसायी समितिलाई आभार प्रकट गर्नुभयो । कार्यक्रममा समितिका अध्यक्ष केदार पौडेलले पत्रकार महासंघलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले समितिले समेत आफ्नै भवन निर्माण गर्ने योजना बनाएको बताउँदै सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
दक्ष चालक उत्पादन एवं दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले आयोजित प्रशिक्षण कार्यक्रममा समिति मातहतका विजोर नम्बर सवारीका चालक एवं सहचालकहरुको उपस्थिती रहेको थियो । समितिले यसअघि साउन ५ गते जोर नम्बर सवारीका चालक एवं सहचालकहरुलाई प्रशिक्षण दिएको थियो । मजदुरहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई शिव पाठकले दुर्घटना न्यूनिकरणका उपाय, ट्राफिक नियम, विभिन्न सवारी ऐनहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
शनिबार भएको समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी सन्तोष खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघ, कास्कीका अध्यक्ष सूर्यमणि लामिछाने, नेपाल यातायात मजदुर संघ, कास्कीका अध्यक्ष जीतबहादुर गुरुङ, नेपाल यातायात स्वतन्त्रमजदुर संगठनका गण्डकी अञ्चल अध्यक्ष विष्णु खत्रीले प्रशिक्षणमा सिकेका कुरालाई मजदुरहरुले व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...