टोल विकास संस्था समन्वय समितिमा आर्थिक अनियमितता

पोखरा, १३ साउन /टोल विकास संस्था समन्वय समिति, पोखरा–१७ मा आर्थिक अनियमितता भएको छ । शनिबार आयोजना गरिएको समितिको चौंथो साधारणसभा तथा तेश्रो अधिवेशनका क्रममा अनियमितता भएको खुलेको हो । साधारणसभाको बन्द शत्रमा आर्थिक प्रतिवेदन पेश हुन नसकेपछि अध्यक्ष टोपराज ढुंगानाले आर्थिक अनियमितता गरेको खुल्न आएको थियो ।
कार्यक्रममा उपस्थित ३० वटा टोल विकास संस्थाका प्रतिनिधिहरुले आर्थिक प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका थिए । अध्यक्ष ढुंगानाले भने मौखिकरुपमा हिसावकिताव पेश गरे । उनले बचत भएको रकम उपमहानगरपालिकाको कार्यालयमा बुझाएको दावी गरे । तर कार्यक्रममा उपस्थित उपमहानगरपालिकाकी प्रतिनिधि सरस्वती अधिकारीले भने बचत भएको भन्दै समितिले कत्ति पनि रकम नबुझाएको खुलासा गरिन् ।
अध्यक्ष ढुंगानाले समितिमा रहेर दुई कार्यकाल काम गरेका थिए । उनी एमालेको कोटामा समितिको अध्यक्ष बनेका हुन् । ढुंगानाले आर्थिक अनियमितता गरेको खुलेपछि सहभागिहरुले विरोध जनाएका थिए । साधारणसभामा कोषाध्यक्ष मनुमाया खत्रीले आफुलाई हिसावकिताव गर्न नदिइएको भन्दै आर्थिक प्रतिवेदन तयार गर्न नसकेको बताएकी थिइन् । उनले दुई वर्षसम्म आफ्नो हातमा एक रुपैया पनि नपरेको र कतै खर्च पनि नगरेको स्पष्ट पारेकी थिइन् ।
आर्थिक प्रतिवेदन पारदर्शी नभएपछि साधारणसभा समेत विथोलिएको छ । सहभागिहरुले समितिमा आर्थिक पारदर्शीता नहुँदासम्म साधारणसभा तथा अधिवेशनमा भाग नलिने भन्दै बाहिरिएपछि कार्यक्रम स्थगीत भएको थियो । अधिवेशन स्थगीत भएपछि शनिबार नयाँ कार्यसमिति समेत बन्न सकेन । साधारणसभाको उद्घाटन सभामा वडा सचिव भक्तबहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रममा पोखरा उपमहानगरपालिकाकी प्रतिनिधि सरस्वती अधिकारी, पारालिगल कमिटीकी वडा अध्यक्ष इन्दिरा थापा, मानव विकास मञ्चकी अध्यक्ष सुष्मा पौडेल, समाजसेवी लालकाजी गुरुङ, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष तुल्सीराम बराल, एकीकृत माओवादीका वडा अध्यक्ष ओमबहादुर पौडेल, नेपाली काँग्रेसका वडा सभापति पुण्डरीप्रसाद बराल, नेकपा एमालेका वडा अध्यक्ष सुमन श्रेष्ठ, नेकपा–माओवादीका वडा प्रतिनिधि नविन गुरुङ लगायतले बोलेका थिए । समितिकी कार्यवाहक अध्यक्ष गीता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष मनुमाया खत्रीले स्वागत र सचिव रञ्जिता सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...