सम्मोहन साहित्यिक पत्रिका लोकार्पण

पोखरा, १२ साउन/कला, साहित्य र संस्कृतिको उर्वरभूमि मानिने पोखरामा सम्मोहन साहित्यिक त्रैमासिक पत्रिकाको वरिष्ठ साहित्यकार सरुभक्तले शनिबार लोकार्पण गरेका छन् । सरुभक्तले पत्रिकाको लोकार्पण गर्दैै पोखरेली साहित्यिक पत्रकारिताको इतिहास कोट्याए । उनले सम्मोहन साहित्यिक पत्रिकाले पोखरामा रहेको साहित्यिक पत्रिकाको अभावलाई पूरा गर्ने विश्वाससमेत व्यक्त गरे ।
प्राज्ञ हरिदेवी कोइरालाले सम्मोहनलाई सम्पूर्ण पोखरेली वाङ्मय साधकहरुको साझा सम्पत्तिका रुपमा चित्रण गर्दै यसको निरन्तरताको सवाल सबैको इज्जतसँग जोडिएको बताइन् । प्रशस्त साहित्यिक गतिविधिहरु हुँदै आए पनि गतिलो साहित्यिक पत्रिकाको अभावलाई पूर्ति गर्ने उद्देश्यसहित पत्रिका प्रकाशन गरिएको प्रकाशक तथा प्रधान सम्पादक रुपिन्द्र प्रभावीले बताए ।
पत्रिकाको समीक्षा गर्दै स्तम्भकार तथा सञ्चार उद्यमी मेहश भण्डारीले राष्ट्रिय स्तरमा सिर्जनात्मक प्रतिस्पर्धा गर्न सक्ने सर्जकहरु सम्मोहनले उत्पादन गर्न सक्नेमा जोड दिए भने अर्का समीक्षक साहित्यकार राजेन्द्र पौडेलले सम्मोहनको प्रवेशाङ्कलाई साहित्यका हाटबजारको उपमा दिँदै सम्पूर्ण साहित्यिक खुराक सम्मोहनमा पाउन सकिने बताए ।
पोखराका अग्रज र समकालीन पुस्ताका स्थापित व्यक्तिहरु सल्लाहकारका रुपमा रहेका सम्मोहनको प्रकाशक तथा प्रधान सम्पादकमा रुपिन्द्र प्रभावी, सम्पादकहरुमा अल्पज्ञानी, कपिल शर्मा ‘सञ्जोग’ र सुरज उपाध्याय रहेका छन् । त्यसैगरी, सहसम्पादकमा उदिपराज ढुङ्गाना र रामचन्द्र अधिकारी तथा व्यवस्थापकमा गणेश पौडेल रहेका छन् ।
कार्यक्रममा पोखरा विश्वविद्यालय साहित्य समाजका अध्यक्ष सुवास मल्ल, नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा, पत्रिकाका सल्लाहकारहरु ईश्वरमणि अधिकारी र कृष्ण उदासीले पनि शुभकामना दिएका थिए । देशविदेशका ६८ जनाको रचना समेटिएको पत्रिका १०४ पृष्ठमा फैलिएको छ ।
 

कमेन्टहरु
Loading...