ज्ञानेन्द्रलाई लाग्ने आचारसंहिता माधव नेपाललाई लागेन

समाचार टिप्पणी
१२ साउन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलको टोली यतिबेला भारत भ्रमणमा व्यस्त छ । देशमा निर्वाचन आचारसंहिता लागू भैसकेपछि एमाले नेताहरुले भारतीय प्रधानमन्त्रीसँगको भेटमा तराईको हुलाकी राजमार्ग जतिसक्दो छिटो निर्माण गर्न भारतलाई आग्रह गरेका छन् । तराईमा हुलाकी राजमार्गको चर्चा गरेर एमाले नेताहरुले मधेसी जनताको मत आफूतिर तान्ने राम्रो अवसरका रुपमा यो भ्रमणलाई उपयोग गरेका छन् ।
madhav-ra-manmohanएमाले नेताहरुको टोलीले भारतीय प्रधानमन्त्री सिंहसँग पञ्चेश्वर परियोजना, मध्यपहाडी राजमार्ग र अन्य राष्ट्रिय योजनाहरुमा थप सहयोग उपलब्ध गराउन आग्रह गरेको एमाले महासचिव इर्श्वर पोखरेलको भनाइ छ । एमाले नेता माधव नेपालको टोलीले भारतीय प्रधानमन्त्रीसँग राष्ट्रिय महत्वका अन्य आयोजनाहरुमा पनि सहयोगका लागि हात बढाउनुभएको छ । तर, उहाँहरुले विकासका लागि हात थापे पनि नेपाल सरकारको प्रतिनिधिका रुपमा भारतको भ्रमण गर्नुभएको नभई व्यक्तिगत एवं दलगत रुपमा भारतको भ्रमण गर्नुभएको हो ।
चुनावमा मुखमा भएको एमाले नेताहरुको दिल्ली भ्रमणलाई सो पार्टीले भारतले आफूलाई विश्वास गरेको र तराई मधेसको हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्गमा भारतसँग सहायता मागेको बताएर चुनावमा आफू अनुकूल प्रचारवाजी गर्ने राम्रो मौकाको रुपमा सदुपयोग गरेका छन् । यता माधव नेपालको टोलीले जस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको टोली पनि चाँडै भारत भ्रमणमा जाँदैछ ।
नेताहरुले यसरी तारन्तार दिल्ली गएर हात थाप्नु आफैंमा राष्ट्रिय स्वाभिमानसँग मेल खाने विषय हो कि हैन भन्ने प्रश्न एकातिर छँदैछ, तर पूर्वराजा ज्ञानेन्द्रले बाढीपीडितलाई राहत वितरण गर्दा चुनावमा असर पर्छ भने नेताहरुले यसरी भारतमा धाएर जिविसका प्रतिनिधिले जसरी राजमार्ग बनाउने विकासे योजना माग्दाचाँहि यसले चुनावलाई प्रभाव पार्छ कि पार्दैन ? यो निर्वाचन आयोग र अन्य दलका नेताहरुले जान्ने कुरा हो ।
राष्ट्रियताको मुद्दा ओझेलमा
नेकपा एमालेले एमाओवादी सरकारका पालामा राष्ट्रियता सबैभन्दा कमजोर बनेको आरोप लगाउँदै आएको छ । तर, एमाले नेता नेपाल र महासचिव इश्वर पोखरेलको टोलीले भारतीय प्रधानमन्त्रीसँग नेपालको राष्ट्रिय हितको पक्षमा के-के अडान व्यक्त गर्यो भन्ने कुरा नेताहरुले बताएका छैनन् । भर्खरै रेग्मी सरकारले गरेको लुम्बिनी र पशुपतिनगरमा भारतीय चेकपोइन्ट राख्ने सहमतिको एमाले नेताहरुले विरोध गरेको पनि सुनिएन । सो सहमतिलाई सर्वोच्च अदालतले रोक लगाइसकेको छ ।
तर, यस विषयमा एमाले मौन रहँदै आएको छ । त्यसैगरी त्रिभुवन विमानस्थलको व्यवस्थापन भारतलाई दिने एमालेकै पालामा भएको निर्णय हालै गरिएको गृहसचिव स्तरीय सहमतिका बारेमा पनि एमाले नेताहरुले भारतसँग कुरा राखे/नराखेको स्पष्ट भएको छैन । बिराटनगरमा भारतले जबर्जस्ती रुपमा राखेको फिल्ड कार्यालयबारे पनि एमाले नेताहरु मौन छन् । तर, उनीहरुले भारतलाई आफ्नै देशको सरकारजस्तो ठान्दै हुलाकी राजमार्ग छिटो बनाइपाऊँ भन्न मागचाहिँ गर्वकाका साथ नहिच्किचाइकन राखिएको बताएका छन् ।
कहाँबाट आउँछ डुल्ने खर्च ?
नेताहरु विदेश भ्रमणमा डुलेका डुल्यैछन् । एमाले नेता माधव नेपाल भर्खरै श्रीलंका, मालदिभ्स, बंगलादेश लगायतका मुलुकमा डुलेर स्वदेश फर्केलगत्तै दिल्ली जानुभएको हो । यसअघि एमाओवादी नेता प्रचण्डले चीन भारत र सिंगापुरको भंमण गर्नुभयो । कांग्रेस नेतृ सुजाता कोइराला पनि विदेश डुलेको डुल्यै हुनहुन्छ । सादगी एवं साथमा निजी सम्पत्ति नभएका सुशील कोइराला हालै अमेरिका पुगेर र्फकनुभयो ।
अब फेरि उहाँ दिल्ली जाँदै हुनुहुन्छ । यसरी नेताहरुलाई विदेश डुलिरहने खर्च कहाँबाट आउँछ ? यसबारेमा नेताहरुले जनतालाई पारदर्शीरुपमा केही पनि बताउने गरेका छैनन् । औपचारिक निमन्त्रणा गरिएका भ्रमणहरुमा सोही देशले खर्च ब्यहोर्ने बताइए पनि निजी उपचारका लागि सिंगापुर र अमेरिकासम्म जाने आउने खर्च कहाँबाट आउँछ ? यसको रहस्य पनि बाहिर आउने गरेको छैन । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...