सडक सुरक्षामा सरोकारवालाहरुको चासो

पोखरा, १२ साउन/नेपालमा सवारी साधनको चाप बढेपनि सडकको संरचना पुरानै हुँदा सडक दुर्घटना बढेको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समयमा सडक दुर्घटनाको घटना बृद्धि भइरहेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाहरु नै सचेत हुनेपर्ने वक्ताहरुको भनाइ छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसियसन पोखरा र नेपाल अटो पत्रकार संघको संयुक्त आयोजनामा शुक्रबार पोखरामा सम्पन्न ‘सडक सुरक्षामा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसियसन पोखराका अध्यक्ष ध्रुवबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालाले सवारी चाप बढेकाले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताए । सरकारले यातायात व्यवसायीहरुको लगानीको सुरक्षाको लागि वातावरण बनाउनुपर्ने बताउँदै कोइरालाले सडक दुर्घटना न्यूनीकरणका लागि व्यवसायी पनि जिम्मेवार हुने जिकिर गरे । पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी प्रमुख ओमराज पौडेलले पोखरामा सवारी साधनको संख्या बढिरहेकाले सडक संरचना साँघुरो भएको बताए । पोखरामा रहेको फुटपाथको व्यवस्थापन भएपछि सडक संरचना फराकिलो भएको भन्दै पौडेलले पोखराको सडक व्यवस्थित गर्नका लागि नगरपालिका तयार रहेको भनाइ राखे ।
नेपाल यातायात व्यवसायी महासंघका पश्चिमाञ्चल क्षेत्रीय संयोजक धर्मराज अधिकारीले यातायात व्यवसायलाई व्यवस्थित गर्नतर्फ सरकारले चासो नदिएको बताए । साँघुरो र पुरानो सडक संरचनाका कारण नेपालमा बढी सडक दुर्घटना हुने गरेको उनको भनाइ छ । नेपाल अटो पत्रकार संघका अध्यक्ष उज्वल जंग शाहले सडकको सुरक्षामा सरोकारवाला निकायहरुलाई घच्घच्याउनका लागि देशभर सडक सुरक्षा अभियान सञ्चालन भएको बताए । नेपाल अटो पत्रकार संघका कोषाध्यक्ष तथा सडक सुरक्षा कार्यक्रम संयोजक पाण्डव शर्माले संघले देशभर सडक सुरक्षा अभियान सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा गण्डकी धौलागिरि अञ्चल सार्वजनिक यातायात समन्वय समितिका महासचिव गोकर्ण कार्की, पृथ्वी राजमार्ग बस सञ्चालक समिति सचिव योगेन्द्र केसी, पृथ्वी राजमार्ग विजयपुर सेती सरोकार समितिका सचिव हरेराम अमगाइँ, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसियसन पोखराका संस्थापक अध्यक्ष राजेन्द्र बाटाजु, एशोसियसनका प्रथम उपाध्यक्ष माधवप्रसाद पौडेल, महासचिव मोहनबावु खड्का, ट्राफिक प्रहरी कार्यालय पोखराका शिवप्रसाद पाठक, व्याब्सन कास्कीका अध्यक्ष निदेश प्रसाद कोइराला लगायतले बोलेका थिए ।
नेपालमा हालसम्म १४ लाख भन्दा बढी सवारीसाधन सञ्चालनमा आएको बताइएको छ । जसमध्ये ६० प्रतिशत सवारी राजधानी काठमडौंमा मात्र सञ्चालनमा छन् । नेपालमा १० हजार किलोमिटर सडक कालोपत्रे भएको छ भने ६ हजार किलोमिटर सडक ग्राभेल गरिएको तथ्यांकले देखाएको छ । नेपालका बाँकी सडकहरु कच्ची रहेका छन् ।

कमेन्टहरु
Loading...