दार्चुला पुगेर ज्ञोनेन्द्रले बाढी पीडितलाई राहत बाँडे

भूपि धामी
९ साउन, दार्चुला । पूर्वराजा ज्ञानेन्द्र शाहले दार्चुला पुगेर बाढी पीडितहरुलाई राहत वितरण गर्नुभएको छ । ज्ञानेन्द्र, पत्नी कोमल र पूर्व युवराज्ञी एवं हिमानी ट्रष्टका अध्यक्ष हिमानीसहितको टोली माउन्टेन फ्लाइटको हेलिकोप्टरमार्फत बधबार विहान पौने ११ बजेतिर दार्चुला आइपुग्नु भएकोथियो । नेपाली सेनाको ब्यारेक परिसरमा हेलिकोप्टर अवतरण गर्न नदिएपछि खुलामञ्चमा ल्याण्ड गरिएको थियो ।
ज्ञानेन्द्रले दार्चुला विकास संगठनको हलमा गएर ट्रष्टले संकलन गरेको राहत बाढी पीडितहरुलाई वितरण गर्नुभएको थियो । ज्ञानेन्द्रको स्वागत गर्न गठित मूल समितिका संयोजक सन्तोष ऐतवालका अनुसार १३ टन चामलसहित लगायत लुगा कपडा र भाडाकुडा हिमानी ट्रष्ट कोषले उपलब्ध गराएको थियो । राहत सामाग्रीमध्ये अनुमानित ६० जना विद्यार्थीलाई पोशाक, ९० जनालाई ४५ किलोग्राम चामल, एक सेट भाडाकुडा मात्र वितरण गरिएको छ ।
तीन ट्रकमा राहत सामाग्री भारतीय बाटो भएर दार्चुलाका लागि ल्याउँदै गर्दा भारतको पिथौरागढ जिल्लाको बलुवाकोटमा सडक अवरुद्ध भएका कारण खलंगासम्म ल्याउन समस्या भएको बताइएको छ । बाँकी राहत सामाग्री अब प्रशासन कार्यालय मार्फत वितरण गरिनेछ । केहि राहत सामाग्री वितरण गरिए पनि आर्थिक सहयोग कति जनालाई वितरण गरियो भन्ने खुलाइएको छैन ।
ज्ञानेन्द्र दम्पतीले राहत वितरण गरिरहँदा पीडित तथा समर्थकहरुले भने राजतन्त्रको पक्षमा नारा लगाएका थिए । ज्ञानेन्द्रको स्वागतका लागि चार दिन अगाडीदेखि नै खलंगा बजारको पाँच ठाउँमा गेट बनाइएका थिए ।
सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो भने राप्रपा नेपालले पनि कार्यकर्तालाइ  स्वयमसेवका रुपमा परिचालन गरेको थियो । कडा सुरक्षाकावीच राहत वितरण गरी पूर्वराजा ज्ञानेन्द्र साढे एक बजेतिर फर्किनु भएको छ ।
पाँच विद्यालयलाई आर्थिक सहयोग
पूर्वराजा ज्ञानेन्द्रले दार्चुलाका पाँच वटा विद्यालयलाई आर्थिक सहयोग गर्नु भएको छ । उहाँले बाढीका कारण पूर्ण रुपमा क्षति बनेको धाप गाविसमा रहेको भगवती प्रावि काकडालाई २ लाख ५० हजार, ग्वानी गाविसमा रहेको लटिनाथ प्रावि बरमुडेलाई १ लाख ५० हजार, खार गाविसमा रहेको लटिनाथ उमाविलाई १ लाख, धाप गाविसमा रहेको जनज्योती प्रावि थालिगाडलाई १ लाख र जिल्ला सदरमुकाम खलंगाको बागाबगरमा रहेको कैलाशपति निमाविलाई ५० हजार दिनु भएको हो । जिल्ला शिक्षा कार्यालयको सिफारिसमा आर्थिक सहयोग उपलब्ध गराएको ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिनाले बताउनुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...