बृद्धाश्रमको खानेपानी समस्या समाधानको लागि ५० हजार सहयोग

सागर राज तिमिल्सिना
पोखरा ७ साउन । पोखरा बृद्धाश्रममा खानेपानी समस्या समाधानको लागि अष्ट्रेलियामा रहेका नेपालीहरुले सहयोग गरेका छन् । कामको सिलसिलामा अष्ट्रेलियामा रहेका १६ जना नेपालीद्धारा संकलित ५० हजार रुपैया आज बृद्धाश्रमलाई हस्तान्तण गरिएको छ । सुधिर लालचनको संयोजकत्वमा अष्ट्रेलियामा उठेको रकम लब्ली पोखरा डटकमका ओम लामाले आज एक कार्यक्रमका बिच बृद्धाश्रमका अध्यक्ष बसन्तकेशब पराजुलीलाई हस्तान्तरण गरे । बृद्धाश्रममा खानेपानीको समस्या रहेको खबर पाएपछि उनिहरुले सामुहिक रुपमा रकम संकलन गरि पठाएका हुन् ।
बृद्धाश्रममा खानेपानी समस्या समाधानको लागि १० लाखको लागतमा आयोजना निर्माणको चरणमा रहेकोमा यसअघि बिभिन्न संघ संस्था तथा ब्यक्तिबाट एक लाख ३६ हजार रुपैया सहयोग प्राप्त भैसकेको बृद्धाश्रमका अध्यक्ष पराजुलीले बताए । बिदेशमा बस्ने नेपालीहरुले पहिलोपटक सामुहिक रुपमा बृद्धाश्रमलाई सहयोग गरेको उनले बताए । यसअघि बिदेशमा बस्ने नेपालीले ब्यक्तिगत रुपमा बृद्धाश्रमलाई सहयोग गरेको भएपनि पहिलोपटक सामुहिक सहयोग प्राप्त भएको उनले जनाए ।
‘ ट्याङकरको पानी किनेर खान सक्ने अबस्था थिएन ’ पराजुलीले भने ‘ सबैको सहयोगमा बृद्धाश्रमको लागि मा त्र खानेपानी आयोजना निर्माणको चरणमा छौ । ’ पोखरा बृद्धाश्रमलाई पश्चिमाञ्चलकै नमुना बृद्धाश्रम बनाउने उद्देश्यले एक करोड १९ लाखको लागतमा सुबिधा सम्पन्न भबन निर्माण गर्न लागिएको छ । सरकारले पनि पोखरा बृद्धाश्रमलाई क्षेत्रिय स्तरको नमुना बृद्धाश्रम बनाउने जनाएको छ ।
गत बर्ष मात्र सरकारले सो बृद्धाश्रमलाई ९ लाख रुपैया प्रदान गरेको थियो । पश्चिमाञ्चलमै पहिलोपटक १७ बर्ष अघि स्थापना भएको बृद्धाश्रमले अहिले सम्म एक सय ६ भन्दा बढी बृद्ध बृद्धालाई आश्रय दिईसकेको छ । बृद्धाश्रममा अहिले २६ महिला र २० जना पुरुष गरी ४६ जना बृद्ध बृद्धाको साथमा ४ जना बालबालिका छन् । कार्यक्रममा बोल्दै बृद्धाश्रमका आजिबन सदस्य एबं सहारा क्लबका अध्यक्ष बिक्रम थकालीले बिदेशमा बस्ने नेपालीले बृद्धाबृद्धाप्रति देखाएको सद्भाबको लागि धन्यबाद ज्ञापन गरे । बृद्धाश्रममा रहेका सम्पूर्ण बृद्धबृद्धाको लागि आज दिउसोको खाजाको ब्यबस्था महेन्द्र गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...