नाट्टाले भारतीय सहरमा प्रवद्र्धन गर्ने

पोखरा, ७ साउन /पोखरामा बढि भन्दा बढि भारतीय पर्यटक भित्रयाउन नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले भारतका विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान संचालन गर्ने भएको छ । साउन १७ देखि सुरु हुने प्रवद्र्धनात्मक अभियान एकसातासम्म संचालन गरिने नाट्टाले जनाएको छ ।नाट्टा अध्यक्ष केदार शर्माका अनुसार भारतको मुम्बई र गोवामा हुन गईरहेको प्रवद्र्धनात्मक अभियानमा पोखराका पर्यटन व्यवसायीको ठुलो समुह सहभागि हुनेछ । पोखरा र आसपासका क्षेत्रका प्रवद्र्धनका लागि यस्तो अभियान चलाउन थालेको नाट्टा अध्यक्ष शर्माले जानकारी दिए । शर्माका अनुसार टोलीले मुम्बई र गोवामा प्रत्रकार सम्मेलन, त्यहाँका पर्यटन व्यवसायीसँग अन्तरक्रिया, भेटघाट एवं छलफल गर्नेछ ।
‘प्रत्येक कार्यक्रमस्थलमा नेपाल सहित पोखरा र आसपासका पर्यटकीय क्षेत्र समेटेर तयार पारिएका प्रबद्र्धनात्मक समाग्री वितरण गरिनेछ’ शर्माले भने, ‘यसले गर्दा पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सकिन्छ ।’ पोखरामा प्रत्येक वर्ष ठुलो समुहमा भारतीय पर्यटक भित्रिने भएकोले यसको संख्या अझै बढाउनका लागि पनि प्रवद्र्धनात्मक अभियान चलाउनुपरेको उनले बताए ।
पोखरा आउने कतिपय पर्यटक गोवातिर जाने भएकोले पनि उनीहरुलाई आकर्षण गर्न यस्तो प्रवद्र्धनात्मक कार्यक्रम गरिन लागेको उनले बताए । टोलीमा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद, पोखरा उद्योग बाणिज्य संघ, रेवान लगायतका शाखाका प्रतिनिधि सहभागि हुनेछन् । नाट्टाले यसअघि पनि भारत सहित अन्य मुलुकमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिसकेको छ । यसअघिका कार्यक्रमबाट सकारात्मक परिणाम आएकोले यो पटक पनि अभियान संचालन गर्न लागेको उनले बताए ।
 

कमेन्टहरु
Loading...