एमाओवादी उत्पादनमा लाग्ने भन्थे, के-के उत्पादन भयो ?

एमाओवादीले माघमा हेटौँडामा तामझामका साथ गरेको महाधिवेशनले उत्पादनको कार्यनीति ल्याएको चर्चाले सगरमाथाको उचाइलाई नै चुनौति देला जस्तो थियो। उत्पादन र निर्माणको ब्युरो बनाएर देशको आर्थिक विकासमा लाग्ने हल्लाबाजी क्या रमाइलो थियो। आज छ महिनापछि फर्केर हेर्दा माओवादीले यो बीचमा के के उत्पादन गर्‍यो त ?

किन गरेन ? ‘विवाद’ त उत्पादन गर्‍यो नि। सबै उत्पादनमा लागे क्रान्ति चैँ कसले गर्छ नि भनेर उतिबेलै काजी साहेब (नारायणकाजी)ले भनेर विवाद उत्पादनको थालनी गरेकै हुन्।

IMG_0737-1024x764

प्रचण्डले कागजमा बनाएको उत्पादन योजना।

उपाध्यक्ष पदबाट राजीनामा दिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘त्याग’ उत्पादन गरे। वरिष्ठ नेताको पद दिन्छु भन्दा पनि नमानेर अझै त्यागको नयाँ नमूना पेश गरे। प्रतिक्रियावादीहरुले खुब उत्पादनमा लाग्ने भन्थे, नयाँ नेता उत्पादन गर्न समेत असफल भयो भनेर खिज्याए पनि यसलाई रुपमा हैन सारमा बुझ्नु पर्छ भन्ने हाम्रो मान्यता हो।

अहिले खन्ना गार्मेन्टमा भइरहेको विस्तारित बैठकमा बाबुरामपथलाई नै पछ्याउँदै धमाधम ‘त्याग’ उत्पादन भइरहेको देख्नुभएन ? उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोस्टबहादुर बोगटीले पनि राजीनामा गरेर ‘त्याग’ गरे। अब एमाओवादीमा प्रचण्ड अध्यक्ष बाँकी सबै केन्द्रीय सदस्य। गज्जबको एकल नेतृत्वको उत्पादन भयो नि, हैन ?

यो त्यागको असर अरु पार्टीमा नि परिसक्यो। राजेन्द्र महतोले अब मन्त्री खान्न भनेर त्यागको घोषणा गरिसके।

उत्पादन त्यतिमा मात्र सीमित छैन। वैशाखमा लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दा पनि ‘विवाद’ उत्पादन भएकै हो।

अझ त्यसभन्दा अघि प्रधान न्यायाधीशलाई पदमा बहाल राखेरै प्रधानमन्त्री बनाउने नयाँ किसिमको मोडल उत्पादन पनि भएकै हो, जसलाई पछि इजिप्टले पनि आयात गर्न बाध्य भयो।

घरमा बूढी हुँदाहुँदै अर्काकी बूढी रहेकी बिना मगरलाई भगाएको आरोपमा निलम्बनमा परेका सुपुत्र प्रकाश दाहाललाई गत चैतमा कारबाही फुकुवा गरेर घरमा खाली रहेको एउटा सदस्य पनि उत्पादन गरिएकै हो।

झुट उत्पादनको ह्यापी एनिभर्सरी!

एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो जीवनशैली महंगो र भडि्कलो भएको भन्दै पोहोर भएको विस्तारित बैठकमा चर्को आलोचना भएपछि लाजिम्पाटस्थित निवास छाड्ने घोषणा गरेको खबर मिडियामा आएको आज ठ्याक्कै एक वर्ष भएछ। पोहोरसाउन ६ गते इकान्तिपुरमा हामीले यो समाचार पढ्न पाएका थियौँ। झुट उत्पादनको ह्यापी एनिभर्सरी कमरेड !
dahal
एक वर्ष पुरानो समाचार-
काठमाडौं, श्रावण ६ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले लाजिम्पाटस्थित महंगो घर छाड्ने भएका छन् ।
दाहालको जीवनशैली महंगो र भडि्कलो भएको भन्दै राजधानीमा जारी विस्तारित बैठकमा चर्को आलोचना भएपछि दाहालले लाजिम्पाटस्थित निवास छाड्ने भएका हुन् । ‘अध्यक्षले हाल चढ्दै आएको महंगो गाडी छोड्ने र बस्दै आएको लाजिम्पाटस्थित डेरा पनि छोड्ने,’ विस्तारित बैठक प्रचार संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले भने, ‘पूर्व प्रधानमन्त्रीलाई सरकारले दिने सुविधा मात्र उपयोग गर्ने ।’
नयाँ बजारस्थित पुरानो निवास साँघुरो भएको भन्दै गत माघ ५ गते दाहालले लाजिम्पाटस्थित महंगो रातो घर सरेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी नयाँबजारस्थित निवासमै बस्दै आएका थिए । नयाँ भवनका लागि माओवादीले मासिक एक लाख रुपैयाँ भाडा तिर्ने दाबी गरे पनि कतिपयले दाहालले नै त्यो भवन किनेको बताउँथे ।
यसैगरी माओवादी अध्यक्ष दाहाल र उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सवै चल अचल सम्पत्ति आर्थिक समितिमा बुझाउने र आर्थिक समिति मार्फत सवै वितरण गर्ने व्यवस्था मिलाउने माओवादीले जनाएको छ ।

उत्पादन गर्ने नीति लिएपछि माओवादीले अरु के के उत्पादन गरे, यसो तपाईँले पनि केही देख्नुभएको भए लेखेर कमेन्ट ‘उत्पादन’ गर्न सघाउनुस्   cp. mysansar.com

कमेन्टहरु
Loading...